सूचना आयोगद्धारा त्रिविलाई उत्तरपुस्तिकाको शुल्क पुनरावलोकन गर्न निर्देशन
काठमाडौं । विद्यार्थीले उत्तरपुस्तिका हेर्दा र प्रतिलिपि प्राप्त गर्दा लाग्ने शुल्क पुनरावलोकन गर्न राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको छ ।
त्रिविले विद्यार्थीसँग उत्तरपुस्तिकालगायतमा लिने शुल्क अव्यवहारिक, महँगो र अन्य शुल्कको दाँजोमा उच्च रहेको भन्दै आयोगमा नवलपरासीकी कल्पना भट्टराईले उजुरी गरेकी थिइन् । भट्टराईको उजुरीपछि शुल्क अव्यवहारिक भएको भन्दै पुनरावलोकन गर्न त्रिविले २०७१ असार २४ गते निर्देशन दिएको थियो ।
तर, निर्देशन कार्यान्वयन नहुँदै आयोगले लगत कट्टा गरेपछि त्रिविले शुल्क पुनरावलोकन गरेको थिएन । त्यसपछि आयोगले दोस्रोपटक यही २०७५ भदौ २२ गते शुल्क पुनरावलोकन गर्न पुनः निर्देशन दिएको हो । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ स्मरण गराउँदै १५ दिनभित्र शुल्क पुनरावलोकन गर्न त्रिविलाई भनेको छ ।
‘विश्वविद्यालयबाट विद्यार्थीहरूको उत्तरपुस्तिकाको प्रतिलिपि दिनेलगायतको कार्यमा रु ५००० दस्तुर लिनु विश्वविद्यालयको अन्य शुल्कको दाँजोमा निकै नै उच्च भएको देखिएकाले सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम यस आयोगले दस्तुर पुनरावलोकन गर्नू भन्ने आदेश जारी गर्नुपर्ने अवस्था देखिएको छ’, आयोगले पुनः निर्देशन जारी गर्नुको व्यहोरा खुलाउँदै लेखेको छ ।
सूचनाको हकसम्बन्धी ऐन ०६४ ले एकदेखि १० पेजसम्म निःशुल्क सूचना पाइने सुनिश्चित गरेको छ । १० पेजभन्दा बढी भएको अवस्थामा ११ औं पेजदेखि मात्रै प्रतिपेज ५ रुपैयाँको दरले शुल्क तिर्नुपर्छ । तर, त्रिविले कुनै विषयको उत्तरपुस्तिकाको प्रतिलिपि लिएवापत वार्षिक प्रणालीका विद्यार्थीबाट २५ सय र सेमेष्टर प्रणालीका विद्यार्थीबाट ५ हजार रुपैयाँ शुल्क असुल्ने गरेको छ ।
एउटा उत्तरपुस्तिकामा कुनै विद्यार्थीले १० देखि १५ पेजसम्म लेख्छ । सूचनाको हकसम्बन्धी ऐनको पालना गर्ने हो भने एक जना विद्यार्थीले एउटा उत्तरपुस्तिकाको प्रतिलिपि माग्दा बढीमा एक सय रुपैयाँ शुल्क तिरे पुग्नुपर्ने हो । तर, परीक्षा नियन्त्रण कार्यालय बल्खुले त्योभन्दा कयौं गुणा बढी अर्थात् ५ हजारसम्म शुल्क लिने गरेको छ ।
आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ स्मरण गराउँदै शुल्क पुनरावलोकनका लागि निर्देशन दिएपछि त्रिविलाई शुल्क घटाउन दबाव परेको छ ।
प्राप्तांकमा चित्त नबुझेमा नतिजा प्रकाशन भएको मितिले ३५ दिनभित्र त्रिभुवन विश्वविद्यालयका सेमेष्टर प्रणालीका विद्यार्थीले ५ सय र वार्षिक प्रणालीका विद्यार्थीले ३ सय रुपैयाँ शुल्क तिरेर पुनर्योगका लागि निवेदन दिनुपर्छ । त्यसपछि रि(चेकिङको लागि वार्षिक प्रणालीका विद्यार्थीले ३ हजार र सेमेष्टर प्रणालीका विद्यार्थीले ५ हजार शुल्क तिरेर निवेदन दिन सक्छन् ।
रि-चेकिङमा पनि चित्त नबुझेमा उत्तरपुस्तिकाको प्रतिलिपि माग्न पाइन्छ । प्रतिलिपि लिनका लागि प्रतिविषय सेमेष्टरको पाँच हजार र वार्षिक प्रणालीको २५ सय शुल्क तिर्नु पर्दछ । शुल्क तिरेर मात्रै पुग्दैन दुरुपयोग नगर्ने, अरुलाई उत्तरपुस्तिका नदेखाउने, कतै पनि उजुर-बाजुर नगर्ने लगायतका सर्त पनि विद्यार्थीहरुले पालना गर्नुपर्छ । अनलाइन खबरबाट
नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।
अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।
यस वर्षको एसइई चैत पहिलो सातादेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ । सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति
चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

