नेपाली फुटबलर अभिषेकले आइजोलबाट आइलीग खेल्ने

नेपाली फुटबलर अभिषेकले आइजोलबाट आइलीग खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अभिषेक रिजालले आइजोल फुटबल क्लबबाट भारतको आइलिग फुटबल खेल्ने भएका छन्।

पोखरामा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका अभिषेकले आफू आइजोल फुटबल क्लबमा अनुबन्धित भएको बताए। २०२० को अक्टोबरमा भएको आइलिग फुटबल छनोटको फाइनल राउण्डमा अभिषेकले मोहमेदन स्पोर्टिङ क्लबबाट खेलेका थिए।

अभिषेकको महत्वपूर्ण प्रदर्शनमा आइलिगको दोस्रो डिभिजन च्याम्पियन हुँदै मोहमेदन आइलिगमा बढुवा भएको थियो। तर, अभिषेकले भने मोहमेदनबाट आइलिग खेल्न पाएनन्।

आइजोल क्लबमा अनुबन्धित भएसँगै अभिषेक अबका बाँकी खेल भने खेल्न पाउनेमा आशावादी छन्। अभिषेकले भने, ‘आइलिगका लागि आइजोलमा अनुबन्धित भएको छु। अब राम्रो गर्ने छु।’

मध्यपूर्वको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि प्रभावित

काठमाडाैं । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि नराम्ररी प्रभावित भएका छन् । क्षेत्रीय अस्थिरता, सुरक्षाको चिन्ता र हवाई क्षेत्र बन्द हुँदा दर्जनौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरू स्थगित, रद्द वा अन्योलमा परेका छन् । विशेषगरी फुटबल क्षेत्रमा यसको प्रभाव उल्लेख्य देखिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो क्यालेन्डरअन्तर्गत पश्चिम क्षेत्रका सबै खेलहरू तत्कालका लागि स्थगित गरेको छ । यसमा एएफसी च्याम्पियन्स लिग एलाइट, एएफसी च्याम्पियन्स लिग टु र एएफसी च्यालेन्ज लिग जस्ता प्रतियोगिता समावेश छन् । साउदी अरब, कतार, यूएई, इरान र कुवेतका क्लबहरू सहभागी हुने खेलहरू रोकिनुका साथै क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर जस्ता चर्चित टोलीहरू पनि प्रभावित भएका छन् । इरानको घरेलु ‘पर्सियन गल्फ प्रो लिग’ अनिश्चितकालका लागि निलम्बन गरिएको छ भने विदेशी खेलाडीहरू धमाधम देश छोडिरहेका छन् । दक्षिण कोरियाली डिफेन्डर ली की–जे तेहरानस्थित आफ्नै दूतावासमा शरण लिएर स्वदेश फर्कन सफल भएका छन् । युद्धको प्रभाव फुटबलमा मात्र सीमित छैन । कतारमा मार्च २७ मा हुने तय भएको स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतिक्षित ‘फाइनलिसिमा’ खेल पनि अन्योलमा परेको छ । कतार फुटबल एसोसिएसनले घरेलु खेलहरू स्थगित गरेपछि उक्त खेल हुने सम्भावना कमजोर बनेको छ । यस्तै, संयुक्त अरब इमिरेट्समा हुने फुजैराह ओपन टेनिस प्रतियोगिता पनि सुरक्षाका कारण रद्द गरिएको छ । खेल तालिका अस्तव्यस्त बनेपछि विभिन्न खेल संघहरू अहिले प्रतियोगिता सञ्चालनभन्दा पनि खेलाडीहरूको सुरक्षा र उद्धारमा केन्द्रित भएका छन् ।

स्कटल्यान्डमाथि ऐतिहासिक जितपछि नेपाली टिमलाई प्रचण्डको बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आईसीसी टी–२० विश्वकप अन्तर्गत स्कटल्यान्डमाथि हासिल गरेको शानदार जितका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। दोस्रो चरणमा पुग्ने सपना अधुरै रहे पनि स्कटल्यान्डविरुद्धको प्रभावशाली जितले सम्पूर्ण नेपालीलाई गर्वान्वित बनाएको उहाँको भनाइ छ। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र लगनशीलताकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो। “नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। दोस्रो चरणको सपना अधुरै रहे पनि, स्कटल्यान्डमाथि हासिल यो शानदार जितले सम्पूर्ण नेपालीलाई गर्व महसुस गराएको छ,” उहाँले भन्नुभयो, “आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन सफल रहनुहोस्। सिंगो नेपाल तपाईंहरूको साथमा छ।” उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले देखाएको आत्मविश्वास र संघर्षशील भावनाले विश्वसामु नेपालको पहिचान थप मजबुत बनाएको उल्लेख गर्नुभयो। स्कटल्यान्डमाथिको जितसँगै नेपाली टोलीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। यस जितले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटप्रति थप आशा र विश्वास जगाएको छ।

टी–२० विश्वकप: दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा १२ वर्षपछि नेपालको जित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि जित निकाल्दै स्कटल्यान्डलाई सात विकेटले हराएको छ। भारतको वान्खेंडे रंगशालामा भएको खेलमा १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा चार चौका र तीन छक्कासहित अविजित ५० रन बनाए। यो विश्वकपमा नेपालबाट सबैभन्दा छिटो बनेको अर्धशतक हो। उनी विश्वकप इतिहासमा दुई अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटरसमेत बने। यसअघि कुशल भुर्तेल (४३) र आसिफ सेख (३३) ले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। गुल्सन झाले अविजित २४ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा १७०/७ बनायो। माइकल जोन्सले ७१ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। जितसँगै नेपालले दुई अंकसहित प्रतियोगिता टुंग्यायो। नेपाल र स्कटल्यान्ड दुवै समूह चरणबाट बाहिरिएका छन्।

नेपाल कबड्डी लिगको दोस्रो सिजन आगामी जेठमा हुने

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनकेएल एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए । दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका १०० बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्ड लगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।

लोकप्रिय