परीक्षा बोर्ड अध्यक्षको नियुक्ति रोकियो

शिक्षा ऐनको आठौँ संशोधनपछि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरी परीक्षाको काम गर्न राष्ट्रिय परीक्षा बोर्ड स्थापना गरेको थियो । बोर्ड स्थापना भएको एक वर्षभन्दा बढी भइसक्दा पनि अध्यक्ष नियुक्त भएको छैन । अध्यक्ष नियुक्ति नहुँदा बोर्डका उपाध्यक्ष रहने शिक्षासचिवले कार्यबाहक अध्यक्षको काम गरिरहेका छन् ।
अध्यक्ष सिफारिसपछि स्वार्थका काम
अध्यक्ष आइसकेपछि उनको अनुकूलतामा काम हुने भन्दै अहिले धमाधम कांग्रेसनिकटलाई नियुक्ति दिइएको स्रोतको भनाइ छ । अध्यक्ष नियुक्तिमा चासो नदिए पनि उनलाई घेराबन्दी गर्ने उद्देश्यले बोर्ड सदस्यमा प्रा. दयामान कर्माचार्य, भुमा पाण्डे र अमुदा श्रेष्ठलाई नियुक्त गरिएको कर्मचारीको आरोप छ ।
अहिले बोर्डले कर्मचारी सेवा–सर्तसम्बन्धी नियमावली मस्यौदा तयार पारेको छ । स्रोतका अनुसार अध्यक्ष नियुक्त नहुँदै त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । बोर्डले ओएनएम सर्भे गरी सातवटै प्रदेशमा शिक्षा मन्त्रालयका सहसचिवलाई प्रमुख बनाउने गरी प्रस्ताव गरेको छ । शिक्षा ऐनअनुसार बोर्डलाई आवश्यक परे शिक्षा मन्त्रालयसँग माग गर्न सक्ने व्यवस्था रहेकामा मन्त्रालयले हस्तक्षेप गरी ऐनविपरीत काम गरेको कर्मचारीहरूले आरोप लगाएका छन् । अध्यक्ष नियुक्तिमा ढिलाइ गर्दा बोर्डबाट हुन सक्ने काममा समेत प्रभाव परेको कर्मचारीको गुनासो छ ।
शिक्षा मन्त्रालयले सदस्यसचिवमा शिक्षा मन्त्रालयका सहसचिवहरूलाई पठाउने गरेको छ । उनीहरूले सहसचिव हुँदा पाउने सुविधा र सहसचिव भएपछि पाउने सुविधा फरक भए पनि त्यसका लागि कुनै अवरोध नहुने, तर अध्यक्ष नियुक्तिमा विभिन्न बहाना बनाएर ढिलाइ गर्ने काम गरेको कर्मचारीको आरोप छ ।
अर्थ मन्त्रालयबाट जवाफ आएन : शिक्षामन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमात्र श्रेष्ठले अध्यक्षको सेवा–सुविधाका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको, तर अर्थबाट जवाफ नआएका कारण मन्त्रिपरिषद्मा प्रस्ताव नलगेको जानकारी दिए । अर्थ मन्त्रालयबाट जवाफ आउनासाथ मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने उनले बताए । आफूहरूका कारण अध्यक्षको नियुक्तिमा ढिलाइ नभएको उनको भनाइ छ ।
नांगो बेइज्जत भयो : प्रा.डा. पौडेल
अध्यक्षमा सिफारिस भएका प्रा.डा. चन्द्रमणि पौडेलले खुला प्रतिपर्धाबाट नाम सिफारिस भएपछि त्यसलाई रोक्न खोज्नु नांगो नाच भएको प्रतिक्रिया दिए । लोकसेवा आयोगको प्रक्रियाबाट अध्यक्षमा सिफारिस भएपछि आफूले चाहेको व्यक्ति ल्याउन नसकेर शिक्षा मनत्रालयले नाटक गरिरहेको उनको भनाइ छ । ‘प्रपोजल मागेर प्रतिस्पर्धाबाट नाम सिफारिस भएको हो, आफ्नो व्यक्ति ल्याउनु थियो भने किन खुला प्रतिस्पर्धा गराउने ?’ उनले प्रश्न गरे । सक्षम व्यक्तिलाई राज्यको कुनै पनि जिम्मेवारीमा ल्याउन नचाहनु दुःखद रहेको पौडेलले बताए ।
नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।
अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।
यस वर्षको एसइई चैत पहिलो सातादेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ । सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति
चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

