पहिरोका कारण हेटौंडा–काठमाडौँ यातायात सेवा अवरुद्ध

पहिरोका कारण हेटौंडा–काठमाडौँ यातायात सेवा अवरुद्ध

हेटौंडा । हेटौंडा–कुलेखानी सडकखण्डअन्तर्गत पर्ने सिस्नेरीको रामचन्द्र भञ्ज्याङ र मदन भण्डारी राजमार्गअन्तर्गत फाखेल सडकखण्डको सुकौरामा आज राति परेको वर्षाले पहिरो गई हेटौंडा–काठमाडौँ यातायात सेवा अवरुद्ध भएको छ ।

कुलेखानी–काठमाडौँ र फाखेल–काठमाडौँ सडकखण्ड अवरुद्ध भएकाले बिहानदेखि भैँसेस्थित त्रिभुवन राजपथबाट काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Photo: symbolic only

तीन किलोमिटर गहिराइमा पुग्यो दैलेखमा पेट्रोलियम अन्वेषणको ‘ड्रिलिङ’

दैलेख। नेपालको इन्धन विकाससँग जोडिएको दैलेखको पेट्रोलियम अन्वेषणअन्तर्गत अन्तिम चरणको जमिनमुनी ड्रिलिङ गर्ने काम तीन किलोमिटर गहिराइमा पुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम अन्वेषण परियोजनाका सिनियर डिभिजनल जियोलोजिष्ट गणेशनाथ त्रिपाठीले हालसम्म दुई हजार नौ सय ६० मिटरको गहिराइसम्म ड्रिलिङ गर्ने काम सम्पन्न भइसकेको बताए । ड्रिलिङको काम सक्न अझै ढेड महिना लाग्ने सक्ने त्रिपाठीले बताए । उनका अनुसार अहिले दैनिक ३० देखि ४० मिटरका दरले ड्रिलिङको काम धमाधम भइरहेको छ । आयोजनामा चार हजार पाँच सय मिटर गहिराइसम्म ड्रिलिङ गरिने त्रिपाठीले बताए । हालसम्म प्राप्त नतिजा अनुसार सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको करिव निश्चित जस्तै बनेको उनले बताए । यद्यपि कति र कुन अवस्थामा पेट्रोलियम पदार्थ छ भन्ने यकिन गर्न ड्रिलिङको काम पूरा भएपछि मात्रै भन्न सकिने भन्दै सिनियर जियोलोजिष्ट त्रिपाठीले भने, ‘ड्रिलिङको काम धमाधम अघि बढिरहको छ । यो सम्पन्न भएपछि उक्त स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन् सम्भावनाबारे अध्ययन हुन्छ ।’ चिनियाँ सरकारको जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम अन्वेषणअन्तर्गत अन्तिम चरणको ‘ड्रिलिङ’ गर्ने कार्य भइरहेको छ । भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषणका जमिनमुनी ड्रिलिङको काम भइरहेको हो । २०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दी गरेपछि चर्चामा आएको पेट्रोलियम पदार्थको खानीमा खनिज रहेनरहेको पत्ता लगाउन अन्तिम नतिजा उन्मुख चरणको काम भइरहेको छ । त्रिपाठीका अनुसार दैलेखमा विगत सयौँ वर्षदेखि जमिनमै ग्यासहरू बलिरहेको, पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिइरहेको छ । त्यो नै प्राविधिक हिसाबले पेट्रोलियम पदार्थ छ भन्ने बलियो प्रमाण भएको त्रिपाठी बताउँछन् ।  ‘सयौँ वर्षदेखि जमिनमै ग्यासहरू बलिरहेको छ, पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिइरहेको अवस्था हो, यो नै पेट्रोलियम पदार्थ छ भन्नेमा बलियो प्रमाण हो, पुष्टि पनि हो । अब कति गहिराइमा छ, कुन–कुन ठाउँमा छ, कति परिमाणमा छ, प्राविधिक र आर्थिक हिसाबले उपयुक्त छ या छैन भन्नेबारे अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ,’ उनले भने । नेपालको चुरे पहाडको केही भू–भाग र तराईको भाग पेट्रोलियम पदार्थको स्रोत भएको अत्यन्तै सम्भावित क्षेत्र रहेको उनको भनाइ छ । उनका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ भित्रै अन्तिम अन्वेषणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।   दैलेख धार्मिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदाको हिसाबले ऐतिहासिक स्थल हो । यहाँ रहेको पञ्चकोशी तीर्थस्थल क्षेत्रमा सदिऔँदेखि निरन्तर ज्वाला बलिरहेको छ । नेपालकै प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्ये श्रीस्थान, नाविस्थान र पादुकामा ज्वाला बलिरहेको छ । त्यहाँ बग्ने खोलाको पानीमाथि पनि आगो बल्छ । कसैले यसलाई दैवी शक्तिका कारण भन्छन् । स्थानीयले दैविशक्तिका कारण ज्वाला बलिरहेको विश्वासमा पूजापाठ गर्छन् । श्रीस्थान र नाविस्थान क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । कतिपयले ज्वाला बलिरहेकाले यस क्षेत्रमा पेट्रोलियम पदार्थ भएको अनुमान लगाउँथे । दैलेखका खोलामाथि पेट्रोलियम पदार्थ तैरिएको, मन्दिरमा ग्यास बलिरहेकोलगायतबाट त्यहाँ पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएको थियो । खानी तथा भूगर्भ विभागले विगत चार दशकदेखि पेट्रोलियम पदार्थको अन्वेषण गर्दै आएको थियो । प्राविधिक जनशक्ति र उपकरण अभावले अन्वेषणले गति लिन भने सकेको थिएन । ४ असोज २०७२ मा नेपालको नयाँ संविधान जारी भए लगत्तै छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी लगायो । नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव चुलियो । अभावकै बीचमा देशभित्रै सम्भावित पेट्रोलियम पदार्थको खोजी थालियो । अनि सुरु भयो दैलेखमा पेट्रोलियम पदार्थको उत्खननका लागि अन्वेषणको काम । भारतीय नाकाबन्दीले नै यहाँ पेट्रोलियम पदार्थको उत्खननका लागि अन्वेषणको काम गर्ने साइत जुरेको थियो ।  २०७२ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोली दैलेख पुग्यो । पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आएको मन्त्री पाण्डेसहितको टोलीले दैलेखमा पेट्रोलियम पदार्थको भण्डार रहेको अन्वेषण कार्यको सुरुवात गर्ने उद्घोष गरेको थियो । त्यसबेला अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टि गर्‍यो । २०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्मा सहकार्य गर्ने सहमति भएको थियो । नेपालले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण गर्न चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । उक्त सहमतिअनुसार २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । १६ असार २०७६ मा तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाभीस्थान आएर अन्वेषणको औपचारिक उद्घाटन गरेको थियो । त्यसपछि खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको विज्ञ टोलीले अन्वेषणको काम थालेको थियो । दुई देशको प्राविधिक टोलीले साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ सर्भे लगायतका काम सम्पन भइसकेको छ । 

नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः प्रचण्ड

भक्तपुर, १५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र मध्यपुर थिमी नगर समिति भक्तपुरले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल संवत् नेवारी समुदायको भावनासँग जोडिएको भए पनि यो नेपाल राष्ट्रकै मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । ‘नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गर्नुपर्छ भनेर खासगरी काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले धेरै वर्षदेखि आन्दोलन गर्दै आउनुभएको थियो । विभिन्न समयका सरकारहरुले त्यो आन्दोलनको एजेण्डा पूरा गर्नुको साटो दबाउन खोजेको गुनासो यो समुदायका अगुवाहरुबाट सुनिरहेको थिएँ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘२०६५ मा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा मैले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएको थिएँ, त्यसका लागि मलाई अहिले पनि गर्व लागिरहेको छ ।’ नेपाल संवतले राष्ट्रिय मान्यता पाएको लामो समयसम्म पनि यसको कार्यान्वयनमा अलमल भएको देखेर गत वर्ष आफू तेस्रोपटक प्रधानमन्त्री भएको बेला विक्रम संवत् प्रयोग हुने सबै सरकारी कागजातमा नेपाल संवत् प्रयोग गर्ने निर्णय मन्त्रिपरिषदबाटै गराएको उहाँले स्मरण गराउनुभयो । उहाँले भन्नुभयो– ‘त्यति मात्र होइन, हाम्रो पार्टीले बागमती प्रदेश सरकारको नेतृत्व गरेको बेलामा यो प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ, यो पनि महत्वपूर्ण उपलब्धि हो ।’ शंखधर साख्वाले गरीब जनताको ऋण मोचन गर्ने काम गरेर पवित्र कार्य गरेपछि उहाँकै सम्मानमा नेपाल संवत् सुरु गरिएको प्रसंग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘२०६५ को एउटै मन्त्रिपरिषद बैठकबाट हामीले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने निर्णय मात्रै गरेनौं, शंखधर साख्वाले जस्तै हामीले पनि करिब किसानहरुको निश्चित रकम ऋण मिनाहको निर्णय पनि गर्यौं ।’ आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला गरिब किसानको ऋण मिनाह, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्गलगायतका ठूला पूर्वाधारको सुरुवात गरेको स्मरण गर्दै दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपालको निर्माणहुँदै तेस्रोपटक प्रधानमन्त्री भएको बेलामा नेपाली इतिहासमै पहिलोपटक सरकारको अगुवाईमा भ्रष्टाचारविरुद्धको अभियान सुरु गरिएको बताउनुभयो । हरेकपटक माओवादी नेतृत्वको सरकारले ऐतिहासिक कामको थालनी गरेको उल्लेख गर्दै उहाँले यसलाई जनताको बीचमा लैजान नसक्नु कमजोरीको रुपमा रहेको बताउनुभयो । पछिल्लो समय आफ्नो नेतृत्वको सरकारले धेरै काम गर्न खोजेको देखेर सरकार ढालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारमा हुँदा सुरु गरिएको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अब पार्टीको मुख्य एजेण्डा हुने र २०८४ माओवादीको हुने बताउनुभयो । सरकारबाट निस्केपछि आफूले एकपटक प्रदेश तहमा पुगेर जनताको अवस्था बुझ्ने प्रयास गरेको उल्लेख गर्दै उहाँले देशभरि जनताले माओवादी र प्रचण्डलाई मायाँ गर्न थालेको बताउनुभयो । ‘३२ सिट हुँदा त माओवादीले यति काम गर्यो भने अब एकपटक बहुमत दिनुपर्छ कि भन्ने हिसाबले जनस्तरमा बहस चल्न थालेको छ, यो हाम्रा लागि निकै सकारात्मक कुरा हो’– उहाँले भन्नुभयो– ‘अब यसलाई हामीले अवसरको रुपमा बदल्नुपर्छ, आत्मविश्वास बलियो बनाउनुपर्छ, ८४ हाम्रो हो,  माओवादीको अर्को जीतको वर्ष हुने छ ।’ माओवादी केन्द्र मध्यपुर थिमी नगर अध्यक्ष एवं मध्यपुर नरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शशी श्रेष्ठ, केन्द्रीय सदस्यहरु दिलिप प्रजापति र रामनारायण बिडारीले शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन नगर समिति शिव श्रेष्ठले गर्नुभएको थियो । सो क्रममा सहिदहरु वैकुण्ठहरि श्रेष्ठ, सविन श्रेष्ठ र कृष्णमान श्रेष्ठका परिवारलाई अध्यक्ष प्रचण्डले सम्मान गर्नुभएको थियो ।      

उपाधि जित्ने नेपालको सपना पुन: अधुरै

काठमाडौं। उपाधि जित्ने नेपालको सपना पुन: अधुरो बनेको छ। नेपालले साफ च्याम्पियनसिप २०२४ मा पुनः उपविजेतामा सीमित भएको हो।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशले २-१ पराजित गरेसँगै नेपाल उपविजेता मै खुम्चिन एपरेको हो । योसँगै बंगलादेशले लगातार साफ जित्न सफल भएको छ। अघिल्लो संस्करणको फाइनलमा पनि बंगलादेशले नेपाललाई यही मैदानमा ३-१ ले हराएको थियोे।  बंगलादेशलाई मनिका चक्माले सुरुआती अग्रता दिलाइन्। उनले ५३औं मिनेटमा अमृता जैशीले गरेको गल्तीमा गोल गरेकी हुन्। ग‍ोलरक्षक एन्जिला तुम्बापोले बचाउने प्रयास गरेपनि सकिनन्।  तर, त्यसको चार मिनेटपछि नै अमिषा कार्कीले गोल फर्काइन्। प्रीति राईको थ्रू बलमा अमिषाले काउन्टर अट्याकमा गोल गरेकी हुन्। ८१औं मिनेटमा बंगलादेशले पुन अग्रता लियो। ऋतु पोर्ना चक्माले अनिता केसीलाई बिट गर्दै प्रहार गरेको बललाई एन्जिलाले बाहिर पठाउने प्रयास गरेपनि असफल हुँदा नेपाल खेलमा पछि पार्यो।

कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यकः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्र, केन्द्रीय कार्यालयले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ बर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । त्यस्तो आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौं । हरेक पार्टीभित्र इमान्दार आत्मसमीक्षा गरौं । अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौं ।’ हरेक कम्युनिष्ट नेता कार्यकर्ता र पार्टीहरुले क्रान्तिलाई किन सही रुपले अघि बढाउन सकेनौं र आम मानिसमा निराशा बढिरहेको भन्ने समस्याको पहिचान गर्न अब भाषण गरेर मात्र होइन, आत्ममीक्षालाई संघर्षकै रुपमा अघि बढाउनुपर्ने उहाँले स्पष्ट गर्नुभयो । ‘म देशभरिका कम्युनिष्टहरुलाई गम्भीर आत्मसीक्षाका लागि अपिल गर्न चाहन्छु’– उहाँले भन्नुभयो– ‘म आदर्शको रुपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरुलाई अपिल गर्न थालेको हुँ ।’ क्रान्तिकारीहरुले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आत्मसीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरुमा एकता, रुपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताउनुभयो । ‘हामीले सिद्धान्ततः दलाल नोकरशाहीविरुद्ध लड्नुपर्छ भनिरहेका छौं तर हामीभित्रै सुरु हुँदै गरेको खराबीविरुद्ध लड्न सुरु नगरी अरुलाई परास्त गर्न सकिदैन’– उहाँले भन्नुभयो– ‘हिजो व्यापक कम्युनिष्ट एकता गरेर समावादमा अघि बढ्न सकिन्छ कि भनेर अभ्यास गर्यौं । सँगै मिलेर चुनाव पनि लड्यौं तर वैचारिक स्पष्टता कायम गर्न नसक्दा क्षति व्यहोर्नुपर्यो । अब पहिले आफैभित्रै वैचारिक स्पष्टताका लागि संघर्ष गरौं । त्यही संघर्षको बीचमा रुपान्तरणसहितको एकताको थालनी गरौं ।’ कम्युनिष्ट नेता कार्यकर्ताहरुमा सिद्धान्त, विचार र कार्यशैली, आचरणको बीचमा ठूल्ठूला खाडल देखापर्दै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सिद्धान्त र व्यवहारको अन्तर्विरोध हल गर्नतिर जोड दिएर लाग्नुपर्ने बताउनुभयो । कम्युनिष्टहरुको नेतृत्वमा नेपालमा विश्वलाई चकित पार्ने राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै उहाँले अब नयाँ समाजवादी क्रान्तिका लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको प्रस्थानविन्दु वैचारिक स्पष्टता नै हुनुपर्ने बताउनुभयो । कम्युनिष्ट घटकहरुबीचको सम्बन्ध सुधारलाई उहाँले चार चरणमा विकास गर्न सकिने उल्लेख गर्दै भन्नुभयो– ‘सबैभन्दा पहिले विचारमा स्पष्टता कायम गरेका दलहरु मिल्ने जति मिलौं, मिल्न नसक्नेले मोर्चा बनाऔं, त्यो पनि नसके कार्यगत एकता गरौं । त्यति पनि नसके हरेकले आफूलाई बदलेर समाजवादी क्रान्तिका लागि तयार पारौं ।  त्यति गर्दा मिल्ने जति मिल्दै जान्छन्, छाँटिने जति छाँटिदै जान्छन् ।’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनभित्र रहेको दक्षिणपन्थी र जडसूत्रीय चिन्तनका विरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उपलब्धि र कमजोरीको समीक्षा गरेर जानुपर्ने बताउनुभयो । जनवादी क्रान्तिको चरण सकिएकाले अब समाजवादी क्रान्तिको कार्यक्रम सुरु गर्नुपर्ने र नेपाली मोडलको समाजवादको खाकामा बहस गर्नुपर्ने बताउनुभयो । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले गणतन्त्र स्थापनामा कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भूमिका रहेकाले अब समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने बताउनुभयो । समाजवादी कार्यक्रमलाई कार्यनीति वा रणनीति के बनाउने बहसको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीभित्र रुपान्तरण गर्दै श्रेष्ठता हासिल गर्ने अभ्यास गर्दै जाँदा पुनः कम्युनिष्टहरुबीच सुदृढ एकता कायम हुने विश्वास व्यक्त गर्नुभयो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले आजको कम्युनिष्ट आन्दोलनको गहिरो समीक्षा गरेर पछाडि फर्कने होइन, अगाडि बढ्ने बाटो तय गर्नुपर्ने बताउनुभयो । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले नेपालमा गणतन्त्र कम्युनिष्टकै कारण आएको उल्लेख गर्दै कम्युनिष्ट घटकहरुबीचको साझा मोर्चालाई अघि बढाउनुपर्ने बताउनुभयो  । माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपाध्यक्ष पम्फा भुसालले गर्नुभएको थियो भने सचिव गिरिराजमणि पोख्रेलले नरबहादुर कर्माचार्यको जीवनीसहित उहाँको स्मृतिमा गरिने कार्यक्रमको खाका प्रस्तुत गर्नुभएको थियो ।

लोकप्रिय