माध्यमिक विद्यालय तथा राष्ट्रपति कप छनौट खेलकूद प्रतियोगिता सुरु
कञ्चनपुर, पुष २५ । दोस्रो भीमदत्त नगर स्तरीय माध्यमिक विद्यालय तथा राष्ट्रपति कप छनौट खेलकूद प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले बुधबार खुला मञ्चमा प्रतियोगिता उद्घाटन गरेका छन् ।
प्रतियोगितामा भीमदत्त नगरपालिकाका ४३ सामुदायिक र संस्थागत विद्यालयका एक हजार ६ सय ४१ विद्यार्थीले भाग लिएका छन् । त्यसमध्ये ९ सय ११ छात्र र ७ सय ३० छात्रा सहभागी छन् ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको सभापतित्वमा गरिएको उद्घाटन कार्यक्रममा राज्यमन्त्री रावलसहित सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्का, नेकपाका नेता नर बहादुर विश्वकर्मा, नेपाली काँग्रेसका नेता पदमराज अवस्थी, राष्ट्रिय जनमोर्चाका महेश जोशी, प्रहरी उपरीक्षक कुबेर कडायत, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शेर बहादुर चन्द लगायत जनप्रतिनिधि, खेलाडी, प्रशक्षिक, विद्यार्थी सहभागी भएका छन् ।
एक सातासम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेलहरु कबर्ड हलमा सञ्चालन गरिने छन् । प्रतियोगिताबाट राष्ट्रपति कप छनौट प्रतियोगिताका लागि खेलाडी छनौट गरिने भीनपा सामािजक विकास समितिका सभापति हरक सिह धामीले जानकारी दिए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री रावलले प्रदेश सरकारले हिउँदे अधिवेशनबाट खेलाडी व्यवस्थापनका लागि नीति नियम ल्याउन लागेको बताए ।
‘यस प्रदेशमा खेलकूदको विकास गर्ने लक्ष्य लिएर अघि बढेका छौ, हिउँदे अधिवेशनमा खेलाडी व्यवस्थापनको नीति ल्याउँछौ’ उनले भने, ‘खेलकूद क्षेत्रको प्रवद्र्धन र खेलाडीलाई सम्मानित जीवन जिउनका लागि सरकार गम्भीर रुपमा लाग्छ ।’
भीमदत्त नगरपालिकाले आयोजना गरेको प्रतियोगिताबाट खेलाडीहरुको क्षमता र प्रतिभा उजागार हुने उल्लेख गर्दै उनले सुदूरपश्चिम प्रदेशका ८८ ओटै स्थानीय तहमा प्रतियोगिता गरिने बताए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा खेलकूदका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री रावलले जानकारी दिएका छन् । कबर्ड हलमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउन ६५ करोड बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य सबै क्षेत्रको विकासका लागि प्रदेश सरकार नीति बनाएर कार्यक्रम सञ्चालन गर्ने बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्काले खेलकूदको विकासले सभ्य समाज निर्माण हुने उल्लेख गर्दै खेलकूद सबै तहका सरकार खेलकूदको विकासमा गम्भीर हुनु पर्नेमा जोड दिए ।
भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनपछि सामुदायिक र संस्थागत विद्यालयका संगठनसित छलफल गरी खेलकूद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गर्न थालिएको बताए ।
‘स्थानीय तह निर्वाचन भयो, जनप्रतिनिधि आए, त्यसपछि खेलकूद क्षेत्रका लागि केही गर्यौं भन्ने छलफल भयो, गत वर्ष पहिलो पटक सबैको सहयोगमा पहिलो नगर खेलकूद गर्यौं’ उनले भने, ‘अहिले गत वर्षको सिकाईलाई फराकिलो बनाउँदै दोस्रो प्रतियोगिता आयोजना गरेका छौ, यसमा तपाई हामी सबैको साथ र सहयोग छ ।’
नगर प्रमुख विष्टले समृद्धिका लागि सपना देख्नु पर्ने उल्लेख गर्दै भीमदत्तलाई समृद्ध नगर बनाउन आफूले अल्पकालिन र दिर्घकालिन विकासको सपना देखेर अघि बढेको बताए । ‘अपार सम्भावना छन्, त्यसमा खेलकूदलाई पर्यटनसित जोडेर चाहन्छौ’ उनले भने ।
भीमदत्तको समृद्धि सबै नगरवासिन्दाको साझा एजेण्डा भएको उल्लेख गर्दै नगर प्रमुख विष्टले सबैले आफूसित भएको सीप क्षमता प्रदान गरी सहयोग गर्न आव्हान गरेका छन् ।
‘भीमदत्तमा एक लाख ५ हजार जनसंख्या, त्यो अझै बढ्छ, २५ हजार हजार घरधुरी छन्, त्यसैले जसमा जे क्षमता छ, सीप छ, त्यो नगरपालिकाको समृद्धिका लागि सहयोग गर्न आव्हान गर्छु’ उनले भने ।
भीमदत्तलाई सुरक्षित र समृद्ध नगर बनाउने लक्ष्य राखिएको उल्लेख गर्दै उनले सीमा नाकाका समस्या समाधानका लागि सीमावर्ती भारतीय क्षेत्रका जनप्रतिनिधिसित समन्वय गरिएको बताए ।
सीमा नाका गड्डाचौकीमा ग्राभेलिङ्ग गरिएको र महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा त्यसको प्रयोगका लागि छलफल अघि सारिएको नगर प्रमुख विष्टले बताए ।
नगर प्रमुख विष्टले तेस्रो खेलकूद प्रतियोगितालाई भव्य र सभ्य बनाउने मञ्चबाट घोषणा गरेका छन् । कार्यक्रममा नेकपाका नेता नर बहादुर विक, काँग्रेसका पदमराज अवस्थी र राष्ट्रिय जनमोर्चाका महेश जोशीले शुभ कामना मन्तव्य राख्दै सफलताको कामना गरे ।
भीनपा सामाजिक विकास समितिका सभापति हरक सिह धामीले जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्चको खर्च सहितको प्रतिवेदन सार्वजनिक गरे ।
कार्यक्रममा भारतको राजधानी दिल्लीमा सम्पन्न इण्डिया अपन अफ इन्टरनेशनल तेक्वान्दोमा स्वर्ण पदक जितेका भीमदत्त नगरपालिका वडा नं। १५ का तेक्वान्दो खेलाडी धिरेन्द्र सिह कठायतलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रावलले उनलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । कडायतका प्रशिक्षक राजेन्द्र कुमार भण्डारीलाई टिका लगाएर सम्मान गरिएको छ ।
यसैगरी भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश भट्टलाई पनि सम्मान गरिएको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिका सदस्य गीता ओलीले स्वागत मन्तव्य राखेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती देखाए ।
उद्घाटन कार्यक्रममा सहभागी खेलाडीहरुले मार्च पास गरे । बिहीबार विहान १० बजेदेखि कबर्ड हलमा खेल सुरु हुने छन् । प्रतियोगितामा कबड्डी, भलिबल, एथ्लेटिक्स, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, सटपुट, कराँते, तेक्वान्दो, उसु लगायतका खेलहरुमा प्रतिस्पर्धा हुनेछ । गत वर्ष ३९ विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।
मध्यपूर्वको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि प्रभावित
काठमाडाैं । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि नराम्ररी प्रभावित भएका छन् । क्षेत्रीय अस्थिरता, सुरक्षाको चिन्ता र हवाई क्षेत्र बन्द हुँदा दर्जनौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरू स्थगित, रद्द वा अन्योलमा परेका छन् । विशेषगरी फुटबल क्षेत्रमा यसको प्रभाव उल्लेख्य देखिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो क्यालेन्डरअन्तर्गत पश्चिम क्षेत्रका सबै खेलहरू तत्कालका लागि स्थगित गरेको छ । यसमा एएफसी च्याम्पियन्स लिग एलाइट, एएफसी च्याम्पियन्स लिग टु र एएफसी च्यालेन्ज लिग जस्ता प्रतियोगिता समावेश छन् । साउदी अरब, कतार, यूएई, इरान र कुवेतका क्लबहरू सहभागी हुने खेलहरू रोकिनुका साथै क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर जस्ता चर्चित टोलीहरू पनि प्रभावित भएका छन् । इरानको घरेलु ‘पर्सियन गल्फ प्रो लिग’ अनिश्चितकालका लागि निलम्बन गरिएको छ भने विदेशी खेलाडीहरू धमाधम देश छोडिरहेका छन् । दक्षिण कोरियाली डिफेन्डर ली की–जे तेहरानस्थित आफ्नै दूतावासमा शरण लिएर स्वदेश फर्कन सफल भएका छन् । युद्धको प्रभाव फुटबलमा मात्र सीमित छैन । कतारमा मार्च २७ मा हुने तय भएको स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतिक्षित ‘फाइनलिसिमा’ खेल पनि अन्योलमा परेको छ । कतार फुटबल एसोसिएसनले घरेलु खेलहरू स्थगित गरेपछि उक्त खेल हुने सम्भावना कमजोर बनेको छ । यस्तै, संयुक्त अरब इमिरेट्समा हुने फुजैराह ओपन टेनिस प्रतियोगिता पनि सुरक्षाका कारण रद्द गरिएको छ । खेल तालिका अस्तव्यस्त बनेपछि विभिन्न खेल संघहरू अहिले प्रतियोगिता सञ्चालनभन्दा पनि खेलाडीहरूको सुरक्षा र उद्धारमा केन्द्रित भएका छन् ।
स्कटल्यान्डमाथि ऐतिहासिक जितपछि नेपाली टिमलाई प्रचण्डको बधाई
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आईसीसी टी–२० विश्वकप अन्तर्गत स्कटल्यान्डमाथि हासिल गरेको शानदार जितका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। दोस्रो चरणमा पुग्ने सपना अधुरै रहे पनि स्कटल्यान्डविरुद्धको प्रभावशाली जितले सम्पूर्ण नेपालीलाई गर्वान्वित बनाएको उहाँको भनाइ छ। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र लगनशीलताकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो। “नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। दोस्रो चरणको सपना अधुरै रहे पनि, स्कटल्यान्डमाथि हासिल यो शानदार जितले सम्पूर्ण नेपालीलाई गर्व महसुस गराएको छ,” उहाँले भन्नुभयो, “आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन सफल रहनुहोस्। सिंगो नेपाल तपाईंहरूको साथमा छ।” उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले देखाएको आत्मविश्वास र संघर्षशील भावनाले विश्वसामु नेपालको पहिचान थप मजबुत बनाएको उल्लेख गर्नुभयो। स्कटल्यान्डमाथिको जितसँगै नेपाली टोलीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। यस जितले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटप्रति थप आशा र विश्वास जगाएको छ।
टी–२० विश्वकप: दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा १२ वर्षपछि नेपालको जित
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि जित निकाल्दै स्कटल्यान्डलाई सात विकेटले हराएको छ। भारतको वान्खेंडे रंगशालामा भएको खेलमा १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा चार चौका र तीन छक्कासहित अविजित ५० रन बनाए। यो विश्वकपमा नेपालबाट सबैभन्दा छिटो बनेको अर्धशतक हो। उनी विश्वकप इतिहासमा दुई अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटरसमेत बने। यसअघि कुशल भुर्तेल (४३) र आसिफ सेख (३३) ले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। गुल्सन झाले अविजित २४ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा १७०/७ बनायो। माइकल जोन्सले ७१ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। जितसँगै नेपालले दुई अंकसहित प्रतियोगिता टुंग्यायो। नेपाल र स्कटल्यान्ड दुवै समूह चरणबाट बाहिरिएका छन्।
नेपाल कबड्डी लिगको दोस्रो सिजन आगामी जेठमा हुने
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनकेएल एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए । दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका १०० बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्ड लगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।



