मोदी र ट्रमबीच कस्ता छन् समानता?
बीबीसी नेपालीः भारतमा भरखरै सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टी बलियो रूपमा देखा परेको छ । सो निर्वाचनको प्रचारप्रसार गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै दौडधुप गरे । दोस्रो कार्यकालको अपेक्षामा रहेका उनी १४० भन्दा बढी चुनावी कार्यक्रममा सहभागी भए ।
सन् २०१६ मा अमेरिकामा भएको निर्वाचनमा डोनल्ड ट्रम्पले पनि त्यति नै सङ्ख्यामा चुनावी सभामा सहभागिता जनाएका थिए । बीबीसीकी रजनी वैद्यनाथनले यी दुई नेताको व्यक्तिप्रधान राजनीतिक प्रवृत्तिमा देखिएका समानताबारे विश्लेषण गरेकी छन् । भारतको राजधानी नयाँ दिल्लीमा एउटा गर्मी र धुलाम्मे साँझ। रामलीला मैदानमा ठुलो भिड जम्मा भएको छ।
मैदाननजिकै सडकमा मोदीका विशाल प्रतिमा लहरै राखिएका छन्। मैदानबाहिर बाजा बजाउने टोलीले भारतमा हुने विवाह समारोहमा जस्तै बलिउडका गीतको धुन बजाउँदैछन्। मोदीको भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरू मैदान प्रवेश गर्न जम्मा हुँदैछन्। उनीहरूमध्ये केही नाच्दै र गाउँदै छन् भने केही ‘मोदी मोदी’ भन्दै नारा लगाइरहेका छन्।
प्रचारात्मक सामग्री बिक्री गर्ने व्यक्तिहरू त्यहाँ एक्कासि देखा पर्छन्। ‘तपाईँलाई भाजपा छाता चाहिन्छ?’ भाजपाको प्रतिनिधित्व गर्ने हरियो र सुन्तला रङ्ग भएको छाता खोल्दै उनले मलाई सोधे।
यस्तो किसिमको राजनीतिक उन्मादले मलाई सन् २०१६ मा डोनल्ड ट्रम्पको चुनावी सभामा देखेको ऊर्जाको स्मरण गराउँछ।
मोदीजस्तै ट्रम्पको चुनावी नारा “मेकिङ अमेरिका ग्रेट अगेन” अर्थात् अमेरिकालाई फेरि महान् बनाउने भन्ने अवधारणामा तयार पारिएको थियो।
सत्ताइस वर्षका अरुण वंसलले “नमो अगेन” अर्थात् फेरि पनि नरेन्द्र मोदी लेखिएको पहिरन लगाएका छन्।
“राष्ट्रिय सुरक्षा र पाकिस्तान यस पालिको चुनावका महत्त्वपूर्ण मुद्दा हुन्,” भाजपाका एक कार्यकर्ताले मलाई भने।
सन् २०१६ को अमेरिकी निर्वाचनलाई छिमेकी राष्ट्र मेक्सिकोप्रति ट्रम्पको कडा धारणाका रूपमा अर्थ्याउने हो भने भारतीय निर्वाचनलाई कैयौँ आधारमा भारत-पाकिस्तान सम्बन्धका विषयमा आफू कडा र उपयुक्त पात्र भएको मोदीले आभास गराउन खोजेको भन्न सकिन्छ।
मैदानभित्र प्रवेश गर्नै लाग्दा मोदीकै जस्तो भेष बनाएका कैयौँ मानिसमध्ये एक जनासँग मेरो भेट भयो। उनका अभिभावकले “लिटल मोदी” भनेर बोलाउने अत्रि सात वर्षका छन्। उनले चुनावी सभाहरूमा चार वर्षको उमेरबाटै सहभागिता जनाउन थालेका हुन्। मेरो ध्यान फेरि अमेरिकाको फ्लोरिडातर्फ गयो। त्यहाँ गर्मी मौसमको एउटा साँझ मैले ट्रम्पजस्तै देखिने कैयौँ व्यक्तिसँग भेट गरेकी थिएँ।
“मलाई मोदी राम्रो लाग्छ किनकि उनले राम्रो काम गरिराखेका छन्। उनले गरिबलाई सहयोग गर्ने गरेको सबैले भन्ने गर्छन्,” कुनै दिन प्रधानमन्त्री बन्ने सपना बोकेका अत्रि भन्छन्।
मैदानमा छिर्दै गर्दा राष्ट्रवादी सङ्गीत बजिरहेको छ र बिस्तारै सीट भरिन्छ।
दुवै नेता आफ्ना समर्थकलाई अपनत्वको अनुभूति गराउन सिपालु मानिन्छन्। अर्को कुरा भेषभूषाको।
दुवै नेताका र्यालीमा सहभागीहरूको शिरमा टोपी देखिन्छ। अमेरिकामा एमएजीए लेखिएको रातो टोपी थियो। यहाँ भने ‘नमो अगेन’ लेखिएको गेरु रङ्गको टोपी छ।
हरमिन्दर सिंह भाटिया नरेन्द्र मोदीको जस्तै इस्टकोट लगाएर आएका छन्। साँझको प्रकाशमा पोलिस्टरको उनको लुगा केही टल्किन्छ।
“उनी प्रधानमन्त्री भएदेखि यो क्षेत्रमा आयोजित उनका सबै र्यालीमा म गएको छु,” उत्साहित हुँदै उनी मलाई भन्छन्, “उनी परिश्रम गर्छन्, उनी देशबारे चिन्ता गर्छन्। उनी बलिया नेता भएकाले म उनलाई मन पराउँछु।”
मैदान भरिँदै गर्दा सूर्यास्तको बेला हुन्छ। यो भिडमा मृदुला अनेजाजस्ता महिला कति होलान् भनेर मलाई खुलदुली हुन्छ। उनी संस्कृतकी शिक्षिका हुन् र तेस्रो चोटि मोदीको र्यालीमा सहभागी हुँदैछिन्।
मेरो ट्विटरमा जतिखेर पनि मोदीबारे प्रेषित सामग्रीको सूचना आइराखेकै छ।
ट्र्म्पले जस्तै मोदीले पनि आफ्ना समर्थकलाई सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष सन्देश दिनेगरेका छन्। मोदी यो कार्यक्रममा आउँदै गर्दा मेरो फोनमा अलर्ट बजिराखेको छ।
“प्रधानमन्त्री मोदी र म सामाजिक सञ्जालमा विश्वनेता हौँ।” सन् २०१७ मा दुई जनाको ह्वाइट हाउसमा भेट हुँदा ट्रम्पले भनेका थिए। ट्विटरमा ट्रम्पका छ करोड ४० लाख फलोअर छन् भने मोदीका चार करोड ७३ लाख।
मैले फोनबाट दृष्टि मोड्दै गर्दा मोदीजस्ता अर्का व्यक्ति पनि नजिकैबाट हिँड्छन्। म उनलाई दोहोर्याएर हेर्छु।
रणवीर धियम सरकारी सेवाबाट अवकाशप्राप्त कर्मचारी हुन्। उनी हिजोआज एउटा र्यालीबाट अर्को र्यालीमा गइराख्छन्। “यो निर्वाचनमा पाँच सय मानिस मसँग सेल्फी खिच्न आए,” उनले मलाई सगर्व भने।
मैले पनि उनीसँग सेल्फी खिँचे।
ट्रम्पजस्तै मोदी पनि कसलाई अन्तर्वार्ता दिने भनेर छान्छन्। उनको छनोटमा आफूप्रति सद्भाव राख्ने र भाजपालाई अप्ठेरो नपार्ने माध्यम हुने गर्छन्। ट्रम्पको छनोटमा फक्स न्यूज परेजस्तै।
भिड केही बेर शान्त हुँदा वास्तविक मोदी आउँदै गरेको सूचना दिइन्छ।
केही मिनेटपछि प्रधानमन्त्रीलाई करतलध्वनिले स्वागत गर्न आग्रह गर्दै उद्घोषकले उनलाई मञ्चमा स्वागत गर्छन्। त्यसका लागि उनी पाकिस्तानमा भारतले गरेको हवाई आक्रमणको सन्दर्भ जोड्दै “तालीको हवाई आक्रमण” भन्ने आशयको शब्दावली प्रयोग गर्छन्।
समर्थकहरू चिच्याउँदै र मोबाइल फोन बजाउँदै एकै स्वरमा “मोदी, मोदी” को नारा घन्काउँछन्।
आफ्नो भाषण थाल्दा मोदी “भारत माताको जय” भन्छन्।
फेरि मैले २०१६ को अमेरिकी निर्वाचनमा “यूएसए, यूएसए” को नारा लगाएको सम्झिएँ।
ट्रम्पले जस्तै मोदी पनि समर्थकसँग नबोलीकनै सङ्केतबाट अन्तर्क्रिया गर्न रुचाउँछन्।
“के हामीले आतङ्कारीलाई तिनकै देशमा मार्नु हुँदैन र?”, उनी सोध्छन्, “मलाई भन्नुहोस् – पर्दैन त?”
“पर्छ,” भिडले उत्तर दिन्छ।
मोदी आफ्ना प्रमुख प्रतिद्वन्द्वी तथा कङ्ग्रेस पार्टीका नेता राहुल गान्धीको आलोचना गर्न पनि छोड्दैनन्।
मोदी र ट्रम्प दुवै जना अभिजात वर्गलाई रुचाउँदैनन्। दुवै जनाले राजनीतिक परिवारका व्यक्तिसँग प्रतिस्पर्धा गरेका छन्। ट्रम्पले पूर्वराष्ट्रपतिकी पत्नी हिलरी क्लिन्टनसँग र मोदीले नेहरू-गान्धी परिवारका उत्तराधिकारी राहुल गान्धीसँग।
“उनीहरू आफ्ना पूर्वजको नाम भजाउँदै मत माग्छन्। तर तिनका पूर्वजले के गरे भनेर सोद्धा उनीहरू रिसाउँछन्।” मोदीले यसो भन्दा सयौँ समर्थकहरू सहमति जनाउँछन्।
राहुल गान्धीका दिवङ्गत पिताको आलोचना गरेकाले मोदी अलोकप्रिय भएको धेरैलाई लाग्यो। तर उनले आलोचान गर्न छोडेनन्।
सन् १९९१ मा हत्या गरिएका पूर्वप्रधानमन्त्री राजीव गान्धीलाई मोदीले “भ्रष्टाचारी नम्बर एक” भनेका थिए।
यसले मलाई डोनल्ड ट्रम्पले सिनेटर जोन मक्केनलाई लक्षित गर्दै प्रयोग गर्ने उस्तै अपमानजनक भाषा सम्झायो।
दुवै जना आफू स्पष्टवक्ता भएको भनेर गौरव गर्छन्। तर उनीहरूको भाषण कहिलेकाहीँ अप्रिय पनि हुने गरेको छ। बीबीसी नेपालीबाट
चीनद्वारा दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय
काठमाडौं । चीनको एक सैन्य अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ । सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्री रहेका वेई फेङ्हे र सन् २०२३ मा केही महिना मात्र उक्त पद सम्हालेका उनका उत्तराधिकारी ली शाङ्फुलाई बिहीबार घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो । लीमाथि घुस दिएको अभियोग पनि प्रमाणित भएको बताइएको छ । दुवैलाई दुई वर्षको ‘रिप्रिभ’ अर्थात् निलम्बनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । साथै, उनीहरूलाई ‘प्यारोल’को सुविधा नदिइने अदालतले जनाएको छ । चीनमा यस्तो सजाय प्रायः दुई वर्षपछि स्वतः आजीवन कारावासमा परिणत हुने प्रचलन रहेको छ । चीनको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार, दुवैको राजनीतिक अधिकार आजीवनका लागि खोसिएको छ भने उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट मानिएका ली शाङ्फु मन्त्री नियुक्त भएकै वर्ष अर्थात् सन् २०२३ मा अन्य धेरै उच्च सैन्य अधिकारीहरूसँगै सार्वजनिक जीवनबाट अचानक गायब भएका थिए । सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि सुरु गरिएको भ्रष्टाचारविरुद्धको शुद्धीकरण अभियानअन्तर्गत हालसम्म लाखौँ अधिकारीहरू कारबाहीमा परिसकेको बताइएको छ । विभिन्न रिपोर्टअनुसार केही उच्च पदस्थ अधिकारीहरूको हिरासतकै क्रममा मृत्यु समेत भएको छ ।
इरानी कार्गो जहाज अमेरिकाले कब्जा गरेपछि चीनको विराेध
काठमाडौं । अमेरिकी सेनाले इरानी झण्डावाला कार्गो जहाजलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ । सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भई युद्धविराम सम्झौता पालना गर्न आग्रह गरे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको बताएका छन् । सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सुचारु गर्न आवश्यक वातावरण बनाउनुपर्ने चीनले बताएको छ । साथै सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ । “अहिले शान्तिको अवसर खुलेको छ, त्यसैले युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गरिनुपर्छ,” प्रवक्ता गुओले भने । अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले उक्त इरानी कार्गो जहाजमाथि गोलीबारी गरी नियन्त्रणमा लिएको बताएको थियो ।
अण्डमान सागरमा डुंगा दुर्घटना : २५० रोहिङ्ग्या र बंगलादेशी बेपत्ता
एजेन्सी । बंगलादेशबाट मलेशिया जाँदै गरेको एक डुंगा हिन्द महासागरको पूर्वी भागमा पर्ने अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा परेका उनीहरू रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन् । बीबीसीका अनुसार माछा मार्ने प्रयोजनले प्रयोग गरिने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिस सवार भएका कारण डुंगा डुबेको जनाइएको छ । बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार अप्रिल ९ मा आफ्नो एक जहाजले दुर्घटनामा परेका ९ जनाको उद्दार गरेको थियो । डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन । रोहिङ्ग्या म्यानमारको मुसलमान अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा म्यानमारमा भएको हिंसात्मक अभियानपछि ठूलो सङ्ख्यामा रोहिङ्ग्या बंगलादेशमा शरण लिएका थिए । बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्यालाई नागरिकता दिइँदैन । बंगलादेशमा कठिन अवस्था भएका कारण धेरै रोहिङ्ग्या जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेशिया पुग्ने गरेका छन् । बंगलादेश कोस्ट गार्डले उद्दार गरेका मध्येका एक ४० वर्षीय रफिकुल इस्लामले उद्दार हुनुअघि आफू ३६ घण्टासम्म समुद्रमा तैरिनुपरेको बताएका छन् । मलेशियामा काम पाइने आशामा आफू यो जोखिमपूर्ण यात्रामा निस्किएको उनको भनाइ छ ।
ट्रम्पद्वारा इरानसँग युद्ध अन्त्य गर्नका लागि यसै हप्ता वार्ता पुनः सुरु हुने सङ्केत
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै हप्ता वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन् । गत शनिबार इस्लामावादमा भएको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो । ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी दुई दिनभित्र केही हुन सक्छ र हाम्रो झुकाव पनि त्यसतर्फ बढी छ ।” उनको यो अभिव्यक्ति यस्तो बेला आएको हो जब अमेरिकी सेनाले होर्मुज जलसन्धिमा नाकाबन्दी लागू गरेको पहिलो २४ घण्टाभित्र त्यहाँबाट कुनै पनि जहाज नगएको दाबी गरेको छ । यस गतिरोधले दुई हप्ते युद्धविराम सम्झौता सकिन लाग्दा थप प्रश्न उठाएको छ । इरानतर्फबाट ट्रम्पको भनाइमा अझै कुनै प्रतिक्रिया आएको छैन । तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ‘धेरै सम्भावना’ रहेको बताएका छन् । तेल बजारमा राहत खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूले पनि अमेरिका र इरानका टोलीहरू यसै सप्ताहान्तमा पाकिस्तान फर्कन सक्ने बताएका छन्, यद्यपि कुनै मिति तय भइसकेको छैन । यो जानकारी रोयटर्स समाचार एजेन्सीले दिएको हो । दुवै पक्षबीच वार्ताको सम्भावना बढेपछि तेल बजारलाई केही राहत मिलेको छ । मङ्गलबार तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा तल झरेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको हवाई आक्रमणपछि इरानले विश्वका लागि अत्यन्त महत्त्वपूर्ण तेल तथा ग्यास परिवहन मार्ग होर्मुज जलसन्धिलाई प्रभावकारी रूपमा बन्द गरेको थियो । अहिले एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र करिब १०,००० अमेरिकी सैनिकले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा बाहिरिने जुनसुकै देशका जहाजहरूमाथि नाकाबन्दी लागू गरिरहेका छन् । यसले इरानको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ । के नाकाबन्दी प्रभावकारी छ ? यो कदमको मुख्य उद्देश्य इरानमाथि दबाब बढाउनु हो । इरानको आम्दानीका दुई मुख्य स्रोत— तेलबाट हुने आम्दानी र होर्मुज जलसन्धिबाट उठाइने टोल— लाई निशाना बनाइएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी लागू भएको पहिलो २४ घण्टामा ६ वटा व्यापारिक जहाजले अमेरिकी निर्देशन पालना गर्दै इरानी बन्दरगाहतर्फ फर्किएको दाबी गरेको छ । तर बीबीसी भेरिफाईको जहाज ट्र्याकिङ डेटाको विश्लेषणअनुसार नाकाबन्दी भए पनि इरानसँग सम्बन्धित कम्तीमा चारवटा मालवाहक जहाज होर्मुज जलसन्धि पार गरेका छन् । तीमध्ये दुईवटा जहाज पहिले नै इरानी बन्दरगाहमा थिए । गत शनिबार र आइतबार इस्लामावादमा भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेन । अमेरिकाको भनाइअनुसार इरानले उसका सर्तहरू स्वीकार गरेन । इरानको आणविक महत्त्वाकांक्षा नै मुख्य अवरोध बनेको थियो । एक अमेरिकी अधिकारीले बीबीसीको साझेदार सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा निलम्बन गर्न आग्रह गरेको छ । तर इरानले भने ५ वर्षसम्म मात्र रोक्ने प्रस्ताव गरेको छ । आर्थिक मन्दीको खतरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस युद्धले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बीबीसीसँग भनेका छन्, “विश्वभर लामो समयसम्म शान्ति र सुरक्षा कायम राख्ने सर्तमा थोरै आर्थिक पीडा स्वीकार्य छ ।” मङ्गलबार चीनले भने यस नाकाबन्दीलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भन्दै तनाव अझ बढाउने चेतावनी दिएको छ । चीनको भनाइ छ— पहिलेदेखि नै कमजोर रहेको युद्धविराम सम्झौता होर्मुजको नाकाबन्दीले थप कमजोर हुनेछ । यसैबीच, इजरायल र लेबनानले मङ्गलबार वासिङ्टनमा भएको वार्तापछि सिधा वार्ता सुरु गर्न सहमति जनाएका छन् । इरान समर्थित हिज्बुल्लाहलाई निशाना बनाएर इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि यो पहल भएको हो । यो बैठक सन् १९९३ पछि दुवै देशबीच भएको पहिलो सिधा वार्ता थियो । लेबनानी राजदूतले यसलाई ‘सकारात्मक’ भनेका छन् भने इजरायली राजदूतले यसले ‘शान्तिको नयाँ युग’ को बाटो खोल्न सक्ने बताएका छन् । एक अमेरिकी अधिकारीले जोड दिँदै भनेका छन्— इस्लामावादमा भएको अमेरिका–इरान वार्ता र वासिङ्टनमा भएको इजरायल–लेबनान वार्ताबीच कुनै सम्बन्ध छैन ।

