विश्वविद्यालयका पदाधिकारीका लागि नयाँ योग्यता र मापदण्ड
काठमाडौं जेठ २ । ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले कुलपति प्रधानमन्त्री हुने ब्यवस्था परिवर्तन गरी राष्ट्रपति र उपराष्ट्रपति राख्न सिफारिस गरेको हो ।
कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुझाएको प्रतिवेदनमा साना विश्वविद्यालयसहित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपराष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सिफारिस गरेको छ । सबै विश्वविद्यालयको समन्वयका लागि सहकुलपतिमा शिक्षामन्त्री नै हुनुपर्ने कार्यदलले सिफारिस गरेको छ ।
कार्यदलको सिफारिस कार्यान्वयन गर्न विश्वविद्यालयका ऐन तथा नियम संशोधन गर्नुपर्ने मन्त्रालयका अधिकारीको भनाई छ । प्रधानमन्त्री व्यस्त हुने र सबै विश्वविद्यालयलाई समय दिन कठिन हुने भएकाले कुलपतिमा राष्ट्रपति र उपराष्ट्रपति सिफारिस गरेको कार्यदलका एक सदस्यले बताए । शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालको संयोगकत्वमा मन्त्रालयले कार्यदल गठन गरेको थियो ।
कार्यदलले कुलपति, सहकुलपति, सेवा आयोगका अध्यक्ष, रेक्टर, रजिस्ट्रार, डिन र कार्यकारी निर्देशकलाई पदाधिकारी मानेर नियुक्तको मापदण्ड र आधार सिफारिस गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘सिफारिस गरेको मापदण्ड कार्यान्वयन भएमा प्रतिस्पर्धामा आधारित नियुक्ति हुने र योग्य व्यक्ति आउनुका साथै पारदर्शिता कायम हुनेछ ।’
उपकुलपतिका लागि तीन चरण पार गर्नुपर्ने
कार्यदलले उपकुलपति छनोटका लागि विस्तृत मापदण्ड तयार पारेको छ । उपकुलपतिका लागि तीन चरणको प्रक्रिया पूरा गर्नुपर्ने मापदण्ड तय भएको छ । विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन उपकुलपति नियुका लागि न्यूनतम योग्यता, अनुभव र मापदण्ड तथा त्यसबापत प्राप्त हुने अंक भारसमेत कार्यदलले प्रस्ताव गरेकोे छ ।
उपकुलपतिमा नियुक्तिको सिफारिस गर्न बहालवाला उपकुलपतिको कार्यकाल समाप्त हुनुभन्दा कम्तीमा ६ महिनाअगावै विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा सात सदस्यीय सर्च कमिटी गठन गर्न सिफारिस गरेको छ । उपकुलपति पदका लागि सम्भाव्य उम्मेदवारले पेस गरेको कार्ययोजना मूल्यांकनका लागि छुट्टै विज्ञ समिति गठन गर्नसमेत प्रस्ताव गरिएको छ ।
पेस भएका कार्ययोजनाको मूल्यांकन गर्न सर्च कमिटीले विज्ञहरूको कार्यदल गठन गर्नेछ । कार्यदलले पेस भएका कार्ययोजनाको मूल्यांकन गरी उत्कृष्टताका आधारमा तीनजनाको नाम सहकुलपतिमार्फत कुलपतिसमक्ष पेस गर्नुपर्नेछ । सिफारिस उम्मेदवारमध्येबाट सर्वोत्कृष्ट योग्यता प्राप्तलाई कुलपतिबाट उपकुलपतिमा नियुक्त गरिने व्यवस्था गर्न सुझाब दिइएको छ । प्रथम चरणको छनोट सूचीमा सूचीकृत हुन न्यूनतम ७० प्रतिशत प्राप्तांक ल्याएका उम्मेदवारमध्ये बढीमा सातजनाको नाम सार्वजनिक रूपमा प्रकाशित गर्नुपर्ने सिफारिस कार्यदलको छ ।
शिक्षाध्यक्ष छनोटका आधार र मापदण्ड
शिक्षाध्यक्षका लागि तल्लो तहमा अनुभवप्राप्त व्यक्तिलाई नियुक्त गर्दा उपयुक्त हुने कार्यदलले सिफारिस गरेको छ । डिन, सहायक डिन वा केन्द्रीय विभागको विभागीय प्रमुखका रूपमा पूरा एक कार्यकाल काम गरेको अनुभवप्राप्त व्यक्ति मात्र विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्ति हुन सक्ने व्यवस्था गर्न उपयुक्त हुने सिफारिस कार्यदलको छ । शिक्षाध्यक्षसभा तथा उपकुलपतिप्रति उत्तरदायी र जवाफदेही हुने व्यवस्था गर्न सिफारिस गरिएको छ । शिक्षाध्यक्षको छनोटका लागि कुलपतिले उपकुलपतिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने र सिफारिसका आधारमा नियुक्त गर्नुपर्ने सुझाव छ ।
रजिस्ट्रार छनोटका आधार र मापदण्ड
विश्वविद्यालयको रजिस्ट्रार पद प्राज्ञिकभन्दा पनि आर्थिक तथा सामान्य प्रशासनसँग सम्बन्धित भएकाले छनोटका आधारलाई व्यवस्थापकीय दक्षता र क्षमतासँग सम्बन्धित गरेको छ । रजिस्ट्रार छनोटका लागि कुलपतिले विश्वविद्यालयका उपकुलपतिको संंयोजकत्वमा शिक्षाध्यक्षसहित पाँच सदस्यीय समिति गठन गरी छनोट गर्न उपयुक्त हुने सिफारिस कार्यदलको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।
अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।
यस वर्षको एसइई चैत पहिलो सातादेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ । सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति
चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

