विश्वविद्यालयलाई जीवनको पाठशाला बनाउनुपर्छः प्रधानमन्त्री ओली
काठमाडौं, पुष १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला नबनाई जीवनको पाठशाला बनाउनुपर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको सोमबार ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा आयोजित ४४औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले विश्वविद्यालय केवल पढ्ने मात्र नभई अनुभूत गर्ने, व्यवहार गर्ने र अपनाउने शिक्षातिर जानुपर्ने बताए ।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘पढेलेखेको र कुनै तहमा उत्तीर्ण भएको व्यक्ति पनि जीवनको आधारभूत परीक्षामा अनुत्तीर्ण भएको र जीवन दुःखदायी भएको आज हामी देख्न सक्छौं । कुनै विषयमा शिक्षा आर्जन गरेको व्यक्ति परिवार र समाजका लागि उदाहरणीय र अनुकरणीय हुन सकोस् भन्नेतिर विश्वविद्यालयको ध्यान जानुपर्छ ।’’
समाज लाभान्वित र समाजको सकारात्मक दृष्टान्त बन्न सक्ने विद्यार्थी विश्वविद्यालयले उत्पादन गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले ती विद्यार्थीले विवेकको बाटाबाट समाजलाई आधुनिकताको नयाँ दिशामा डोर्याउन सक्ने बताए ।
‘हामीले निर्धारण गरेको विकास लक्ष्य पूरा गर्न कस्ता र कति जनशक्ति आवश्यक पर्छ, पहिले त्यसको विशिष्टीकरण गर्नुपर्छ, अनि त्यसअनुसार कुन कलेज कहाँ राख्ने र कुन विषय कहाँ पढाउने तय गर्न सक्छौं,’’ उनले भने । विद्यार्थीले सिकेका ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न राज्यले सबैलाई शिक्षा प्राप्तिको आवश्यक वातावरण सिर्जना गरिने उनले बताए ।
आर्थिक हैसियत भएकाको मात्र उच्च शिक्षामा पहुँच सीमित नहुने भन्दै उनले सबैको शिक्षामा पहुँच पुर्याउनका लागि असमानता हटाई समातामूलक र सबै वर्ग समुदायका निम्ति उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताए ।
देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न, कला, संस्कृति, र परम्पराको संरक्षण गर्न एवं ज्ञान, विज्ञान तथा प्रविधिका क्षेत्रमा सामयिक अध्ययन–अनुसन्धान गर्न त्रिविले खेलेको भूमिको प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।
विश्वविद्यालयबाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न त्रिविको चुनौती रहेकाले त्यसर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । पुर्खाको ज्ञानलाई संरक्षण गर्न नसकेर आफूहरु पछाडि परेको भन्दै प्रधानमन्त्री ओलीले व्यावहारिक शिक्षा लागू गरेर जीवनलाई परिवर्तन गर्नुपर्ने बताए । उनले आगामी शैक्षिकसत्रमा विद्यालय बाहिर रहेका सबै विद्यार्थीलाई विद्यालयमा ल्याइने बताए ।
भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय, स्कूल अफ इन्टरनेशनल स्टडिजअन्तर्गतका साउथ एशियन इकोनोमिक्सका प्राध्यापक महेन्द्र पी लामाले त्रिविले व्यावहारिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले आजको शिक्षा कक्षाकोठाभन्दा बाहिरको धेरै व्यावहारिक भएको भन्दै त्रिविले त्यस्तो कक्षाकोठाभन्दा बाहिरको शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले त्रिविलाई अनुसन्धानमूलक संस्थाको रुपमा लैजाँदै उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयले आफूलाई अब्बल सावित गर्न ज्ञानको हस्तान्तरण नभई ज्ञान निर्माणमा केन्द्रित भई विश्वस्तरमा आफ्नो पहिचान बनाउनुपर्ने बताए ।
त्रिविका उपकुलपति डा. तीर्थराज खनियाले त्रिविलाई राष्ट्रिय विश्वविद्यालयको रुपमा लैजानुपर्ने बताए । उनले त्रिविले प्राविधिक शिक्षालाई उच्च प्राथमिकताका साथ अगाडि लैजाने बताए ।
विसं २०१७ देखि प्रत्येक वर्ष हुँदै आएको दीक्षान्त समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २८२ विद्यार्थीमध्ये नौ हजार ५०४ विद्यार्थी दीक्षित भएका छन् ।
छ हजार ३०९ विद्यार्थी सहभागी भएको सो समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रधानमन्त्री तथा त्रिविका कुलपति ओलीले ३१ पदक तथा पुरस्कार वितरण गरेका थिए । रासस
नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।
अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।
यस वर्षको एसइई चैत पहिलो सातादेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ । सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति
चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

