हक्कीको उर्बरभूमि : ‘उल्टाखाम र बागफाँटा’
भीमदत्तनगर । मुलुकको हक्की खेल कञ्चनपुरका दुईवटा गाउँका खेलाडीले धानेको छ, भन्दा अनौठो लाग्न सक्छ । भीमदत्तनगरपालिका–२ को उल्टाखाम) र वडा नं १९ बागफाँटा हक्की खेलाडी जन्माउने गाउँका रुपमा परिचित छन् ।
यहाँ उत्पादन भएका खेलाडीले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको हक्की खेलको नेतृत्व गरिसकेका छन् । उल्टाखाम र बागफाँटाबाट हालसम्म महिला तथा पुरुष खेलाडी गरी २६ जनाले अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा नेपाली टिमबाट भाग लिएको कञ्चनपुरका हक्की सहायक प्रशिक्षक नरबहादुर चन्दले जानकारी दिनुभयो ।
“प्रदेश नं ७ को हक्की टिममा सबै उल्टाखाम र बागफाँटाका खेलाडी सम्मिलित हुन्छन्,” उहाँले भन्नुभयो– “आफ्नै स्रोत साधनका भरमा यी दुवै गाउँमा निरन्तर खेलाडी उत्पादन हुँदैआएको छ ।”
राष्ट्रिय हक्की प्रतियोगिताको नतिजा हेर्दा यहाँको हक्की पुरुष तथा महिला टिम हालसम्म उपाधिरहित हुनुपरेको छैन । पाँचौँ र छैठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पुरुष टिम प्रथम स्थान ओगट्न सफल भएको थियो भने सातौँ राष्ट्रिय खेलकूदमा दोस्रो भएको थियो । सातौँ राष्ट्रिय खेलकूदमा सुदूरपश्चिमको महिला टिम प्रथम भएको प्रशिक्षक चन्दले बताउनुभयो ।
“अहिलेसम्म सुदूरपश्चिमको हक्की टिम नै हाम्रो गाउँको हो,” भीमदत्त नगरपालिका–२ उल्टाखाम घर भएका प्रशिक्षक चन्दले भन्नुभयो– “सुदूरका अन्य आठ जिल्लामा हक्कीको खासै प्रभाव छैन, कञ्चनपुरकै खेलाडी समेटेर टिम बनाउने गरेका छौँ ।”
भारतको गुवाहाटीमा सन् २०१६ फेब्रुअरी पाँचदेखि १६ सम्म सञ्चालन भएको १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितामा नेपालको टिममा सहभागी हक्कीका १६ महिला खेलाडीमध्ये १२ जना कञ्चनपुरकै रहेका थिए । नेपाली हक्की महिला टोलीको नेतृत्व महेन्द्रनरकी तुलसी डगौंराले गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपाली महिला हक्की टिम तेस्रो भएको थियो ।
कञ्चनपुरको महेन्द्रनगरमा २०५९ सालदेखि हक्की खेल्न थालिएको प्रशिक्षक चन्द बताउनुहुन्छ । बागफाँटामा हक्कीको काम चलाउ मैदान छ । त्यही मैदानमा उत्पादन भएका खेलाडीको हाल नेपाली हक्की टिममा दबदबा छ ।
“खेलाडीले देउसी र भैलो खेलेर संकलन भएको रकमले हक्की खेलको सामग्री खरिद गर्छन्,” उहाँले भन्नुभयो– “खेलप्रतिको लगावकै कारण उल्टाखाम र बागफाँटा हक्की गाउँका रुपमा परिचित छ ।” हालको राष्ट्रिय हक्की टिममा पनि यहीँकै खेलाडीको बर्चस्व छ । “नेपालको महिला टिमको पूरै सेट यतैको हो,” प्रशिक्षक चन्दले भन्नुभयो– “त्रिभुवन आर्मी क्लबबाट यहाँका आठजनाले हक्की खेल्छन् ।”
उल्टाखाम र बागफाँटामा हक्की खेल मैदान निर्माण गरी खेलाडीलाई खेल समाग्री पु¥याउन सके अझै पर्याप्त खेलाडी उत्पादन गर्न सकिने उहाँको भनाइ छ । “अहिले कम उमेर समूहका पुरुष १८ र महिला २२ जना प्रशिक्षणमा छन्,” उहाँले भन्नुभयो– “जहिल्यै पनि खेलकूद सामग्रीको अभाव रहन्छ ।”
हक्कीमा अन्तर्राष्ट्रियस्तरमा नेपाली टिमको नेतृत्व सम्हाली सकेकी तुलसी डगौंरा खेलाडीलाई सुविधा सम्पन्न खेलमैदान र खेल सामग्रीसँगै नियमित प्रशिक्षणको व्यवस्था हुनुपर्नेमा जोड दिनुहुन्छ । हक्की खेल्न थालेको एक वर्षमै नेपाली महिला टिमको नेतृत्व गरेर १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितामा भाग लिएकी डगौंराले राष्ट्रिय खेलकूद परिषद्ले पनि खेलको विकास र विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो ।
हक्कीका राष्ट्रिय खेलाडी कान्तुराम पनेरु खेलमैदान र खेलकूद सामग्रीको अभाव रहेको बताउनुहुन्छ । “खेलाडी र प्रशिक्षकको तालमेल धेरै राम्रो छ, तर खेल सामग्री र मैदान नहुँदा पर्याप्त रुपमा खेलाडी उत्पादन हुन सकेका छैनन्,” पनेरुले भन्नुभयो ।
जिल्ला खेलकूद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले भीमदत्त नगरपालिकाका उल्टाखाम र बाफाँटा हक्कीको उर्बरभूमि भएको बताउनुभयो । “चालू आवमा हामीले बागफाँटामा हक्की खेलमैदान निर्माण गर्न रु तीन लाख बजेट विनियोजन गरेका छौँ,” उहाँले भन्नुभयो– “खेल सामग्री र अन्य पूर्वाधार निर्माण सक्दो सहयोग गछौँ ।”
राजस्थानदेखि महेन्द्रनगरसम्म
कञ्चनपुरबाहेक अझै पनि प्रदेश नं ७ का अन्य जिल्लामा हक्की खेलको गतिविधि शून्यप्रायः छ । कञ्चनपुरमा २०५९ सालदेखि हक्की खेल्न थालिए पनि नरबहादुर चन्द २०५२ सालदेखि हक्की प्रशिक्षकका रुपमा यहाँ आउनुभएको हो ।
प्रशिक्षक चन्दले भारतको राजस्थानमा हक्की खेलको प्रशिक्षण लिनुभएको हो । उहाँका बुबा भारतीय सेनामा कार्यरत भएकाले चन्दले राजस्थानमै अध्ययनसँगै हक्की सिक्नुभयो । “विसं २०५२ मा सातौँ दक्षिण एशियाली खेलकूदका लागि टिम बनाउन मलाई राजस्थानबाट बोलाइएको थियो,” प्रशिक्षक चन्दले भन्नुभयो ।
राजस्थानमा कक्षा ८ पढ्दादेखि नै हक्की खेल्न थाल्नुभएका चन्द भारतको राष्ट्रिय हक्की टिममा समेत छनोट भएका थिए । उहाँ त्यहाँ बन्द प्रशिक्षणमा समेत सामेल हुनुभएको थियो । “सन् १९९३ मा भारतको राष्ट्रिय हक्की टिमको बन्द प्रशिक्षणमा सहभागि भए,” प्रशिक्षक चन्दले भन्नुभयो– “बन्द प्रशिक्षणमा सहभागी भए पनि खेल्न भने पाइँन ।”
राजस्थानमा प्रवीणता प्रमाण पत्र तह अध्ययन गर्दासम्म उहाँले थुप्रै भारतीय राष्ट्रिय हक्की प्रतियोगितामा भाग लिनुभएको थियो । उहाँको कञ्चनपुर आगमनसँगै यहाँ हक्की खेलको प्रशिक्षण शुरु भएको हो । विसं २०५३ मा जिल्ला खेलकूद विकास समितिमा करारमा हक्की खेलको सहायक प्रशिक्षकमा नियुक्त हुनुभएका चन्द २०६० सालमा स्थायी प्रशिक्षक हुनुभएको हो । त्यसयता उहाँ हक्कीको नियमित प्रशिक्षणमा व्यस्त रहनुभएको छ भने प्रदेश नं ७ को हक्की टिमले हरेक हक्की प्रतियोगितामा पदक चुम्दै आएको छ । रासस
मध्यपूर्वको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि प्रभावित
काठमाडाैं । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि नराम्ररी प्रभावित भएका छन् । क्षेत्रीय अस्थिरता, सुरक्षाको चिन्ता र हवाई क्षेत्र बन्द हुँदा दर्जनौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरू स्थगित, रद्द वा अन्योलमा परेका छन् । विशेषगरी फुटबल क्षेत्रमा यसको प्रभाव उल्लेख्य देखिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो क्यालेन्डरअन्तर्गत पश्चिम क्षेत्रका सबै खेलहरू तत्कालका लागि स्थगित गरेको छ । यसमा एएफसी च्याम्पियन्स लिग एलाइट, एएफसी च्याम्पियन्स लिग टु र एएफसी च्यालेन्ज लिग जस्ता प्रतियोगिता समावेश छन् । साउदी अरब, कतार, यूएई, इरान र कुवेतका क्लबहरू सहभागी हुने खेलहरू रोकिनुका साथै क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर जस्ता चर्चित टोलीहरू पनि प्रभावित भएका छन् । इरानको घरेलु ‘पर्सियन गल्फ प्रो लिग’ अनिश्चितकालका लागि निलम्बन गरिएको छ भने विदेशी खेलाडीहरू धमाधम देश छोडिरहेका छन् । दक्षिण कोरियाली डिफेन्डर ली की–जे तेहरानस्थित आफ्नै दूतावासमा शरण लिएर स्वदेश फर्कन सफल भएका छन् । युद्धको प्रभाव फुटबलमा मात्र सीमित छैन । कतारमा मार्च २७ मा हुने तय भएको स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतिक्षित ‘फाइनलिसिमा’ खेल पनि अन्योलमा परेको छ । कतार फुटबल एसोसिएसनले घरेलु खेलहरू स्थगित गरेपछि उक्त खेल हुने सम्भावना कमजोर बनेको छ । यस्तै, संयुक्त अरब इमिरेट्समा हुने फुजैराह ओपन टेनिस प्रतियोगिता पनि सुरक्षाका कारण रद्द गरिएको छ । खेल तालिका अस्तव्यस्त बनेपछि विभिन्न खेल संघहरू अहिले प्रतियोगिता सञ्चालनभन्दा पनि खेलाडीहरूको सुरक्षा र उद्धारमा केन्द्रित भएका छन् ।
स्कटल्यान्डमाथि ऐतिहासिक जितपछि नेपाली टिमलाई प्रचण्डको बधाई
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आईसीसी टी–२० विश्वकप अन्तर्गत स्कटल्यान्डमाथि हासिल गरेको शानदार जितका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। दोस्रो चरणमा पुग्ने सपना अधुरै रहे पनि स्कटल्यान्डविरुद्धको प्रभावशाली जितले सम्पूर्ण नेपालीलाई गर्वान्वित बनाएको उहाँको भनाइ छ। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र लगनशीलताकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो। “नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। दोस्रो चरणको सपना अधुरै रहे पनि, स्कटल्यान्डमाथि हासिल यो शानदार जितले सम्पूर्ण नेपालीलाई गर्व महसुस गराएको छ,” उहाँले भन्नुभयो, “आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन सफल रहनुहोस्। सिंगो नेपाल तपाईंहरूको साथमा छ।” उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले देखाएको आत्मविश्वास र संघर्षशील भावनाले विश्वसामु नेपालको पहिचान थप मजबुत बनाएको उल्लेख गर्नुभयो। स्कटल्यान्डमाथिको जितसँगै नेपाली टोलीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। यस जितले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटप्रति थप आशा र विश्वास जगाएको छ।
टी–२० विश्वकप: दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा १२ वर्षपछि नेपालको जित
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि जित निकाल्दै स्कटल्यान्डलाई सात विकेटले हराएको छ। भारतको वान्खेंडे रंगशालामा भएको खेलमा १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा चार चौका र तीन छक्कासहित अविजित ५० रन बनाए। यो विश्वकपमा नेपालबाट सबैभन्दा छिटो बनेको अर्धशतक हो। उनी विश्वकप इतिहासमा दुई अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटरसमेत बने। यसअघि कुशल भुर्तेल (४३) र आसिफ सेख (३३) ले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। गुल्सन झाले अविजित २४ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा १७०/७ बनायो। माइकल जोन्सले ७१ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। जितसँगै नेपालले दुई अंकसहित प्रतियोगिता टुंग्यायो। नेपाल र स्कटल्यान्ड दुवै समूह चरणबाट बाहिरिएका छन्।
नेपाल कबड्डी लिगको दोस्रो सिजन आगामी जेठमा हुने
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनकेएल एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए । दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका १०० बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्ड लगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।

