ह्वावेई-गुगल विवाद: के होला अब?
गुगलले ह्वावेईमा स्मार्टफोनहरूमा प्रतिबन्ध लगाएपछि आक्रामक रुपमा बाजार बिस्तार गरिरहेको चिनियाँ प्राविधि कम्पनीको व्यापार ता प्रभावित हुने नै छ यसका साथै विश्वकै दोस्रो ठुलो स्मार्टफोन निर्मातालाई स्पेयर पार्टस उपलब्ध गराइरहेका चिपसेट निर्माता कम्पनीहरूको व्यापारमा पनि आकस्मिक व्यवधान आउने निश्चित छ ।
सोमवार गुगलको घोषणाको प्रत्यक्ष प्रभाव अमेरिकी सेयर बजारमा देखा परेको छ । जहाँ क्वालकम, एनभिडिया, एडभान्स माइक्रो डिभाइसेस, ल्याम रिसर्च जस्ता अमेरिकी चिपसेट निर्माता कम्पनीहरूले लगानीकर्ताहरूको विश्वास गुमाएका छन् ।
यी कम्पनीहरूले ह्वावेईलाई स्पेयर पार्टस उपलब्ध गराउने गरेका थिए ।
एन्ड्रोइड अपरेटिङ सिस्टम’मा ह्वावेईको पहुँचमाथि लगाइएका प्रतिबन्धहरूको असर सो चिनियाँ कम्पनीले मङ्गलवार ल्याउन लागेको पछिल्ला मोबाइल सेटहरूमाथि लामो समयसम्म रहनेछ।
लन्डन अनर ट्वेन्टी सिरिजको स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रममा सो कम्पनीले विश्वभरिका सञ्चारमाध्यमलाई निम्त्याएको छ।

बीबीसीले दिएको जानकारी अनुसार ती नयाँ मोबाइल सेटमा गुगलको एप स्टोरसहित पूर्ण ‘एन्ड्रोइड अपरेटिङ सिस्टम’ उपलब्ध हुनेछ।
तर अमेरिकी सरकारसँगको विवाद समाधान नभएको खण्डमा ह्वावेईले एन्ड्रोइड प्रयोग गरिरहने निर्णय गरेमा आगामी सेटहरूमा गुगलका थोरै सेवाहरूमात्र उपलब्ध हुनेछन्।
अब के होला?
हाललाई अमेरिकाले वर्तमान ग्राहकहरूलाई सहज पार्ने उद्देश्यले ह्वावेईविरुद्ध प्रविधि हस्तान्तरणसम्बन्धी कडा नियम लागु गर्ने कार्य तीन महिनाले पछि सारेको छ।
वाणिज्य मन्त्रालयले ह्वावेईको सञ्जाल सञ्चालन तथा उसको मोबाइलका सफ्टवेअर अपडेटजस्ता सेवा अस्थायी रूपमा पुनर्स्थापित गरिदिएको छ।
तर त्यो सहुलियत तीन महिनापछि के हुन्छ भन्ने स्पष्ट छैन।
विश्वकै दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनीसँग गुगल सम्बन्ध तोड्न चाहँदैन। ह्वावेईले हाल ५० करोड मनिसहरूले आफ्नो फोन प्रयोग गर्ने बताएको छ।
सिद्दान्तत: अमेरिकी वाणिज्य मन्त्रालयले गुगललाई ह्वावेईसँगको सम्बन्ध कायम राखिराख्न अनुमति दिनसक्छ वा अहिलेको प्रतिबन्धलाई स्थगित गर्नसक्छ।
तर प्रतिबन्ध कायम भएको अवस्थामा के हुनसक्छ त?
गुगल के गर्दैछ?
अमेरिकी प्रविधि कम्पनीले ह्वावेइसँगका सरसामान आदानप्रदान र प्राविधिक सेवाजस्ता सबै ‘गैरसार्वजनिक’ व्यापारिक क्रियाकलापलाई स्थगित गरेको छ।
यसको अर्थ ह्वावेई फोनमा एन्ड्रोइड हराउछ भन्ने होइन किनभने एन्ड्रोइड स्मार्टफोन निर्माताहरूले चाहेअनुरुप परिवर्तन गर्न सकिने ओपन सोर्स सफ्टवेयर हो।
तर अभ्यासमा भने धेरै निर्माताहरू गुगलले दिने सेवामा भर पर्छन्। र गुगलले यसका निम्न कुराहरूमा नियन्त्रण राख्छ:
एपहरू डाउनलोड गर्ने प्ले स्टोर
गुगलका एपहरू
गुगल एसिस्टेन्ट भनिने सहयोगी एप
जीमेल इमेल सेवा
र अन्य एपलाई एन्ड्रोइडसँग जोडिन दिने प्रविधि
अहिले चलिरहेका ह्वावेईका सेटमा के हुन्छ?
ह्वावेई वा अनर फोन बोक्नेहरूका लागि भने अचानक एप राख्न नमिल्ने वा अद्यावधिक नहुने भन्ने हुनेछैन्।
यसको कारण भनेको अहिले चलनचल्तीमा रहेका सेटहरू प्रमाणित भइसकेका हुन् तर त्यसमा नयाँ भर्सन दिन वा एप डाउनलोड गर्न दिन गुगलले ह्वावेईसँग सम्बन्ध राखिरहनुपर्दैन।
तर सुरक्षा अप्डेटहरूका विषयमा भने यो फरक हुनसक्छ।
गुगलले कुनै सुरक्षा खतरा देखेको अवस्थामा एक महिना पहिले निर्माता कम्पनीहरूलाई जानकारी दिएर मात्रै सार्वजनिक रूपमा अप्डेट जारी गर्नेगर्छ।
यसले गर्दा निर्माता कम्पनीहरूलाई अप्डेटले आफ्नो फोनमा कस्तो असर पार्छ भनेर जाँच गर्न समय दिन्छ।
ह्वावेईले अब भने अप्डेट जारी गरिएको दिन मात्रै सोको जानकारी पाउने छ र उसको फोन प्रयोगकर्तालाई अप्डेट दिन केही समय लाग्नेछ।
यसले कुनै ठूलै खतरा देखिदाँ ह्वावेईका फोनहरू केही दिन वा हप्ताका लागि खतरामा रहनेछन्।
नयाँ सेटमा के हुन्छ?
नयाँ मोबाइल सेटहरू भने प्रमाणित हुनेछैनन् र यसको कारण निम्न एपहरू फोनमा हुनेछैनन्।
प्लेस्टोर, म्युजिक र अन्य मिडिया
गुगल फोटोज
यूट्युब
गुगल म्याप्स
गुगल ड्राइभ
गुगल डुओ
यीमध्ये केही सेवाहरू फोनमा इन्टरनेटमार्फत् प्रयोग गर्न सकिन्छ तर त्यसरी प्रयोग गर्न सहज छैन।

चीनमा गुगलका धेरै सेवाहरू प्रतिबन्धित भएका कारण त्यहाँका प्रयोगकर्ताहरूलाई यसले ठूलो असर गर्नेछैन।
र ह्वावेईका फोनहरू एन्ड्रोइडका नयाँ भर्सनमा नगई अहिलेकै भर्सनमा रहिरहेको अनुमानसमेत गरिएको छ।
तर अबको नयाँ भर्सन निर्माता कम्पनीहरूलाई दिइसकिएकोले एन्ड्रोइड क्यू भने ह्वावेईका फोनहरूमा आउन सक्छ। त्यसपछिका नयाँ भर्सन भने नआउन सक्छ।
ह्वावेईका विकल्प
ह्वावेईले बीबीसीलाई एन्ड्रोइडसँग सहकार्य गर्न इच्छुक भएको बताउँदै नयाँ अपरेटिङ सिस्टम विकास गरेको बताएको छ।
“हामीले यस्तो कुराका लागि तयारी गरेका छौँ,” ह्वावेई यूकेका कार्यकारी उपाध्यक्ष जेरेमी थम्प्सनले भने।
“हामी समानान्तर रुपमा वैकल्पिक व्यवस्था गरिरहेका छौँ र त्यसले हाम्रो प्रयोगकर्ताहरूलाई खुसी बनाउनेछ।”
“छोटो समयका लागि यो ह्वावेईको लागि शुभ समाचार होइन, तर हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ।”

चीनमा अधिकांश प्रयोगकर्ताले वीच्याट प्रयोग गर्ने र त्यसमा अन्य एप चलाउन पनि मिल्ने भएकोले यसले ठूलो फरक ल्याउनेछैन।
र अन्य एप विकासकर्ताहरू पनि नयाँ अपरेटिङ सिस्टममा आफ्नो एप चल्न मिल्ने बनाउन दबावका हुनेछन्।
तर अन्यत्र भने नयाँ सिस्टमले समस्या ल्याउनेछ।
“उनीहरूले जेसुकै बनाएको भए पनि त्यसलाई स्थापित गर्न सहज हुनेछैन,” प्रविधि समाचार वेबसाइट एक्सडीए डेभलपर्सका प्रधान सम्पादक मिसाल रहमान भन्छन्।
“किनभने मोबाइल अपरेटिङ सिस्टमको सफलता भनेको कति एपहरू उपलब्ध छन् भन्ने कुरामा निर्भर गर्छ।” “एपलको पछि एन्ड्रोइड नै सबैभन्दा धेरै एप भएको सिस्टम हो। बीबीसीको सहयोगमा
चीनद्वारा दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय
काठमाडौं । चीनको एक सैन्य अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ । सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्री रहेका वेई फेङ्हे र सन् २०२३ मा केही महिना मात्र उक्त पद सम्हालेका उनका उत्तराधिकारी ली शाङ्फुलाई बिहीबार घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो । लीमाथि घुस दिएको अभियोग पनि प्रमाणित भएको बताइएको छ । दुवैलाई दुई वर्षको ‘रिप्रिभ’ अर्थात् निलम्बनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । साथै, उनीहरूलाई ‘प्यारोल’को सुविधा नदिइने अदालतले जनाएको छ । चीनमा यस्तो सजाय प्रायः दुई वर्षपछि स्वतः आजीवन कारावासमा परिणत हुने प्रचलन रहेको छ । चीनको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार, दुवैको राजनीतिक अधिकार आजीवनका लागि खोसिएको छ भने उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट मानिएका ली शाङ्फु मन्त्री नियुक्त भएकै वर्ष अर्थात् सन् २०२३ मा अन्य धेरै उच्च सैन्य अधिकारीहरूसँगै सार्वजनिक जीवनबाट अचानक गायब भएका थिए । सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि सुरु गरिएको भ्रष्टाचारविरुद्धको शुद्धीकरण अभियानअन्तर्गत हालसम्म लाखौँ अधिकारीहरू कारबाहीमा परिसकेको बताइएको छ । विभिन्न रिपोर्टअनुसार केही उच्च पदस्थ अधिकारीहरूको हिरासतकै क्रममा मृत्यु समेत भएको छ ।
इरानी कार्गो जहाज अमेरिकाले कब्जा गरेपछि चीनको विराेध
काठमाडौं । अमेरिकी सेनाले इरानी झण्डावाला कार्गो जहाजलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ । सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भई युद्धविराम सम्झौता पालना गर्न आग्रह गरे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको बताएका छन् । सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सुचारु गर्न आवश्यक वातावरण बनाउनुपर्ने चीनले बताएको छ । साथै सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ । “अहिले शान्तिको अवसर खुलेको छ, त्यसैले युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गरिनुपर्छ,” प्रवक्ता गुओले भने । अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले उक्त इरानी कार्गो जहाजमाथि गोलीबारी गरी नियन्त्रणमा लिएको बताएको थियो ।
अण्डमान सागरमा डुंगा दुर्घटना : २५० रोहिङ्ग्या र बंगलादेशी बेपत्ता
एजेन्सी । बंगलादेशबाट मलेशिया जाँदै गरेको एक डुंगा हिन्द महासागरको पूर्वी भागमा पर्ने अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा परेका उनीहरू रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन् । बीबीसीका अनुसार माछा मार्ने प्रयोजनले प्रयोग गरिने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिस सवार भएका कारण डुंगा डुबेको जनाइएको छ । बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार अप्रिल ९ मा आफ्नो एक जहाजले दुर्घटनामा परेका ९ जनाको उद्दार गरेको थियो । डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन । रोहिङ्ग्या म्यानमारको मुसलमान अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा म्यानमारमा भएको हिंसात्मक अभियानपछि ठूलो सङ्ख्यामा रोहिङ्ग्या बंगलादेशमा शरण लिएका थिए । बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्यालाई नागरिकता दिइँदैन । बंगलादेशमा कठिन अवस्था भएका कारण धेरै रोहिङ्ग्या जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेशिया पुग्ने गरेका छन् । बंगलादेश कोस्ट गार्डले उद्दार गरेका मध्येका एक ४० वर्षीय रफिकुल इस्लामले उद्दार हुनुअघि आफू ३६ घण्टासम्म समुद्रमा तैरिनुपरेको बताएका छन् । मलेशियामा काम पाइने आशामा आफू यो जोखिमपूर्ण यात्रामा निस्किएको उनको भनाइ छ ।
ट्रम्पद्वारा इरानसँग युद्ध अन्त्य गर्नका लागि यसै हप्ता वार्ता पुनः सुरु हुने सङ्केत
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै हप्ता वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन् । गत शनिबार इस्लामावादमा भएको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो । ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी दुई दिनभित्र केही हुन सक्छ र हाम्रो झुकाव पनि त्यसतर्फ बढी छ ।” उनको यो अभिव्यक्ति यस्तो बेला आएको हो जब अमेरिकी सेनाले होर्मुज जलसन्धिमा नाकाबन्दी लागू गरेको पहिलो २४ घण्टाभित्र त्यहाँबाट कुनै पनि जहाज नगएको दाबी गरेको छ । यस गतिरोधले दुई हप्ते युद्धविराम सम्झौता सकिन लाग्दा थप प्रश्न उठाएको छ । इरानतर्फबाट ट्रम्पको भनाइमा अझै कुनै प्रतिक्रिया आएको छैन । तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ‘धेरै सम्भावना’ रहेको बताएका छन् । तेल बजारमा राहत खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूले पनि अमेरिका र इरानका टोलीहरू यसै सप्ताहान्तमा पाकिस्तान फर्कन सक्ने बताएका छन्, यद्यपि कुनै मिति तय भइसकेको छैन । यो जानकारी रोयटर्स समाचार एजेन्सीले दिएको हो । दुवै पक्षबीच वार्ताको सम्भावना बढेपछि तेल बजारलाई केही राहत मिलेको छ । मङ्गलबार तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा तल झरेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको हवाई आक्रमणपछि इरानले विश्वका लागि अत्यन्त महत्त्वपूर्ण तेल तथा ग्यास परिवहन मार्ग होर्मुज जलसन्धिलाई प्रभावकारी रूपमा बन्द गरेको थियो । अहिले एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र करिब १०,००० अमेरिकी सैनिकले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा बाहिरिने जुनसुकै देशका जहाजहरूमाथि नाकाबन्दी लागू गरिरहेका छन् । यसले इरानको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ । के नाकाबन्दी प्रभावकारी छ ? यो कदमको मुख्य उद्देश्य इरानमाथि दबाब बढाउनु हो । इरानको आम्दानीका दुई मुख्य स्रोत— तेलबाट हुने आम्दानी र होर्मुज जलसन्धिबाट उठाइने टोल— लाई निशाना बनाइएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी लागू भएको पहिलो २४ घण्टामा ६ वटा व्यापारिक जहाजले अमेरिकी निर्देशन पालना गर्दै इरानी बन्दरगाहतर्फ फर्किएको दाबी गरेको छ । तर बीबीसी भेरिफाईको जहाज ट्र्याकिङ डेटाको विश्लेषणअनुसार नाकाबन्दी भए पनि इरानसँग सम्बन्धित कम्तीमा चारवटा मालवाहक जहाज होर्मुज जलसन्धि पार गरेका छन् । तीमध्ये दुईवटा जहाज पहिले नै इरानी बन्दरगाहमा थिए । गत शनिबार र आइतबार इस्लामावादमा भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेन । अमेरिकाको भनाइअनुसार इरानले उसका सर्तहरू स्वीकार गरेन । इरानको आणविक महत्त्वाकांक्षा नै मुख्य अवरोध बनेको थियो । एक अमेरिकी अधिकारीले बीबीसीको साझेदार सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा निलम्बन गर्न आग्रह गरेको छ । तर इरानले भने ५ वर्षसम्म मात्र रोक्ने प्रस्ताव गरेको छ । आर्थिक मन्दीको खतरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस युद्धले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बीबीसीसँग भनेका छन्, “विश्वभर लामो समयसम्म शान्ति र सुरक्षा कायम राख्ने सर्तमा थोरै आर्थिक पीडा स्वीकार्य छ ।” मङ्गलबार चीनले भने यस नाकाबन्दीलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भन्दै तनाव अझ बढाउने चेतावनी दिएको छ । चीनको भनाइ छ— पहिलेदेखि नै कमजोर रहेको युद्धविराम सम्झौता होर्मुजको नाकाबन्दीले थप कमजोर हुनेछ । यसैबीच, इजरायल र लेबनानले मङ्गलबार वासिङ्टनमा भएको वार्तापछि सिधा वार्ता सुरु गर्न सहमति जनाएका छन् । इरान समर्थित हिज्बुल्लाहलाई निशाना बनाएर इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि यो पहल भएको हो । यो बैठक सन् १९९३ पछि दुवै देशबीच भएको पहिलो सिधा वार्ता थियो । लेबनानी राजदूतले यसलाई ‘सकारात्मक’ भनेका छन् भने इजरायली राजदूतले यसले ‘शान्तिको नयाँ युग’ को बाटो खोल्न सक्ने बताएका छन् । एक अमेरिकी अधिकारीले जोड दिँदै भनेका छन्— इस्लामावादमा भएको अमेरिका–इरान वार्ता र वासिङ्टनमा भएको इजरायल–लेबनान वार्ताबीच कुनै सम्बन्ध छैन ।

