एभरेष्ट दैनिक

ओली र नेपालबीच केन्द्रबीच बैठकअघि ​भेट हुनसक्ने, टेलिफोनमा भयो कुराकानी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय कमिटी बैठकअघि भेट हुने सम्भावना बढेको छ । एमालेले आज केन्द्रीय कमिटी बोलाएपनि माधव नेपाल पक्षले भने बैठक बहिस्कार गर्ने बताइसकेको छ । यसअघि बिहिबार ओली र नेता नेपालबीच कुराकानी भएको थियो। बैठकमा सहभागिता र पार्टी एकतालगायत विषयमा अध्यक्ष ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको र आज पनि कुराकानीलाई निरन्तरता दिने तयारी रहेको नेताहरूले जानकारी दिएका छन्। दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ओलीले आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक राखेका छन्। तर उक्त बैठकमा सहभागी नहुने निर्णय नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको छ। एमाले नेता शेर बहादुर तामाङका अनुसार आज बिहान ११ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्छ। पार्टी कार्यालय थापाथलीमा ठाउँ अभाव हुने हुँदा बालुवाटारको खुला चौरमा टेन्टमा बैठक गरिने उनले जानकारी दिए। नेपाल पक्षका नेता भीम आचार्यले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुरा भएको बताए। कुराकानीलाई निरन्तरता दिने पनि उनको भनाइ छ। आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आफूहरूले माग गरिएको पनि आचार्यले बताए। ‘बैठक स्थगित गरियो भने पार्टी एकताका लागि राम्रो सन्देश जान्छ। हामीले बैठक सार्न भनेका छौं यदी बैठक सरेन र बस्यो भने त त्यो गुटको बैठक हुन्छ र त्यो बैठकको के अर्थ छ र?,’ उनले भने। आज अध्यक्ष ओली र नेता नेपालबीच भेटघाट हुन सक्ने नेताहरूले बताएका छन्। सम्भवत आज फेरि टेलिफोनमा कुराकानी र भेट नै गर्ने तयारी रहेको नेताहरू बताउँछन्।