१३ बालिकाको विद्यालय पढ्न जंगलमै वास
१९ भदौ, २०७६
काठमाडौं । सुनकोसीवारि रामेछापका माझी बालिका बर्खाभर पारि जंगलछेउमा कटेरोमा बसेर सिन्धुलीको झाँगाझोलीस्थित विद्यालयमा पढ्छन् सुनकोसी नदीमा पुल र डुंगा नहुँदा रामेछाप खाँडादेवी गाउँपालिका–१ कोथवेका सीमान्तकृत माझी समुदायका १३ बालिका पढ्नका लागि जंगलमै बस्न बाध्य छन् । गाउँमा प्राविसम्मको मात्रै विद्यालय भएकाले थप अध्ययनका लागि सुनकोसीपारि सिन्धुली जार्नैपर्ने भएकाले बालिकाहरू जंगलछेउमा कटेरो बनाएर बस्ने गरेका छन् । ६० परिवार माझी समुदाय बस्ने कोथवेका अधिकांश माझी बालक प्रावि तहबाटै अध्ययन छाड्छन् । धेरै पढेर सुन्दर भविष्य बनाउन कस्सिएका केही बालिका सिन्धुली सुनकोसी गाउँपालिका–३ झाँगाझोलीको गुटबजारस्थित श्री मावि पुग्नुपर्छ । तर, ८ र १० कक्षामा पढ्ने १३ बालिकालाई सुनकोसी किनारको जंगलछेउमा उभ्याइएको बारबन्देजविहीन कटेरोमा रात काटेर अध्ययन गर्न मुस्किल छ । कतिपयले त यही दुःखका कारण पढाइ छाडिसके । केही वर्षअघिसम्म नदी वारपार गर्न काठको डुंगा थियो । तर, थोत्रिएपछि नयाँ डुंगा बनाउन काठ नै नपाएको माझीहरू बताउँछन् । त्यसो त कोथवेबाट दुई घन्टाको दूरीमा पर्ने भिरपानी सित्खामा झोलुंगे पुल छ । तर, त्यहाँसम्म पुग्ने गोरेटो बाटो पहिरोले पुरेपछि गत वर्षदेखि अवरुद्ध छ । ‘हिउँदका वेला कोसीको पानी सङ्लो हुन्छ, ट्युबमार्फत वारपार गर्न खासै गाह्रो हुँदैन,’ कक्षा १० मा पढ्ने सुशीला माझीले भनिन्, ‘तर, वर्षात्का वेला नदीमा बाढी आउँछ । ट्युबबाट नदी तर्न सकिँदैन । त्यसैले हामी १३ जना साथी यही कटेरोमा बस्दै आएका छौँ । यहीँबाट विद्यालय आउजाउ गर्छौँ ।’ यी बालिकालाई शुक्रबार भने ट्युबमार्फत तारेर अभिभावकले घर लैजान्छन् । आइतबार बिहान फेरि कटेरोमा ल्याइदिन्छन् । यही वेला उनीहरूलाई हप्ताभर चाहिने खाद्यान्न र तरकारी पनि ल्याइदिन्छन् । बालिकाहरू कटेरोमै पकाएर खान्छन् । असारदेखि भदौसम्म यही दुःखमा उनीहरूको अध्ययन चल्छ । १० कक्षामा पढ्ने सुशीला माझी भन्छिन्–डरले रातभर निद्रा लाग्दैन बुबाआमा नदीपारि घरमा बस्नुहुन्छ । तर, कोसी सुसाएको आवाजले घरतिर कोही बोलेको सुनिँदैन । यता जंगलको छेउमा डरले रातभर हामीलाई निद्रा लाग्दैन । बीचमा को सुत्ने भन्ने विषयमा हरेक राति हामीहरूबीच विवाद नै हुन्छ । कोही पनि छेउमा सुत्न मान्दैनन् । जंगली जनावर र मान्छे दुवैको डर हुन्छ । ‘नेताहरूले आश्वासन मात्रै दिए’ तीनवटै तहको निर्वाचनका वेला नेताहरूले सुनकोसीमा झोलुंगेपुल निर्माण गर्ने आश्वासन दिएका थिए । तर, चुनावपछि कुनै पनि जनप्रतिनिधि माझी बस्ती नआएको कोथवेकी ज्ञानु माझीले बताइन् । ०३७ मा धार परिवर्तन गरी कोसी रामेछापको कोथवेतर्फ गएको थियो । त्यहीवेलादेखि उनीहरूको घर र खेतबारी वारिपारि भयो । अहिले बालिका बस्ने जंगलछेउका कटेरा उनीहरूकै बारीमा बनाइएका हुन् । केही माझीका कटेरा भए पनि बालिकाहरू एउटै कटेरोमा मिलेर बस्ने गरेका छन् । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले माझी समुदायको सुविधाका लागि कोसीमा झोलुंगेपुल हाल्न गाउँपालिकाले पहल गर्ने बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
आज – १९ भाद्र २०७६ बिहिवारको राशिफल
१९ भदौ, २०७६
८ बुँदे सहमति भएपछि रसुवा बन्द फिर्ता
१८ भदौ, २०७६
राशिद खान भोलि रच्दै छन् यस्तो इतिहास
१८ भदौ, २०७६
कर्णालीमा अक्सिजन प्लान्ट स्थापना
१८ भदौ, २०७६
चिनियाँ विदेश मन्त्री आइतबार नेपाल आउँदै
१८ भदौ, २०७६
कुनै–कुनै महिला यौनसम्पर्कपछि किन रुन्छन्?
१८ भदौ, २०७६
राष्ट्रिय टोलीमा परेनन् इडे हाजार्ड
१८ भदौ, २०७६