एभरेष्ट दैनिक

भोजपुरमा ट्याक्टर दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश नं. १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर दिङ्लातर्फ आउँदै गर्दा सडकबाट करीब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुर्घटनामा ट्याक्टरमा सवार छ जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र चारजना घाइते भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक षडानन्द नगरपालिका–४ केराबारीका ३५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका ३० वर्षीय नवीन तामाङ रहेका छन् । दुवैजनाको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको हो । घाइते हुनेमा षडानन्द नगरपालिकाका १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बरबहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङ रहेका छन् । उनीहरूको उपचार नगर अस्पताल दिङ्लामा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएकाको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।