एभरेष्ट दैनिक

चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र आह्वान

काठमाडौँ । चालु आर्थिक वर्षका लागि सरकारको कुल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य रहेकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको मलका लागि बोलपत्र आह्वान गरिएको छ । कृषकलाई सहज रूपमा मल उपलब्ध गराउने उद्देश्यले सरकारले आवश्यक तयारी मिलाएको स्पष्ट पारेको छ । यसका लागि सरकारले रु २८ अर्ब ८२ करोड १४ लाख बराबरको बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत असोज मसान्तसम्म एक लाख ९४ हजार ८५ मेट्रिक टन मल आपूर्तिको प्रक्रियामा छ । त्यसमा कृषि सामग्री कम्पनी लिमिटेडको ३३ हजार ३३८ मेट्रिक टन युरिया र साल्ट ट्रेडिङ कर्पोरेसनको ५७ हजार ६७० मेट्रिक टन मल समावेश छन् । हालसम्म कृषि सामग्री कम्पनीले युरिया र डिएपी सहित कुल एक लाख १५ हजार ४०५ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनले ७८ हजार ६८० मेट्रिक टन मल आपूर्ति गरिसकेका छन् । मन्त्रालयका अनुसार हाल एक लाख आठ हजार ९०८ मेट्रिक टन मल मौज्दात छ । त्यसमा कृषि सामग्री कम्पनीमा ६३ हजार ८०० मेट्रिक टन (डिएपी, युरिया र पोटास) तथा साल्ट ट्रेडिङ कर्पोरेसनमा ४५ हजार १०८ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ । मन्त्रालयले हिउँदे खेतीका लागि पर्याप्त मात्रामा मल उपलब्ध रहेको जनाएको छ । गत साउनदेखि असोज मसान्तसम्म एक लाख ३२ हजार ८०७ मेट्रिक टन मल बिक्री भएको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।