एभरेष्ट दैनिक

आज देशका कुन-कुन क्षेत्रमा छ बाढीको जोखिम ?

काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानहरूमा हाल पश्चिमी वायुको प्रभाव देखिएको छ । बाँकी प्रदेशहरूमा मनसुनी वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहने र तराईका अधिकांश भागमा आंशिक बदली रहने सम्भावना छ । हाल कर्णाली र सुदूरपश्चिमका केही स्थानहरू तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूमा साथै कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदी लगायतमा सबैको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तर आज जुम्ला, मुगु, डोल्पा, हुम्ला, बझाङ, दार्चुला र आसपासका जिल्लाहरूमा बहने स–साना नदीहरूमा बहाव सामान्य बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिमको उच्च सम्भावना रहेको चेतावनी दिइएको छ । त्यस्तै रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, बाँके, रुकुम पश्चिम, बाजुरा र डोटी आसपासका जिल्लामा पनि स–साना नदीहरूको बहाव सामान्य बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।