एभरेष्ट दैनिक

हेलिकप्टर दुर्घटनामा परी राष्ट्रपतिकी बहिनीसहित ६ को मृत्यु

होन्डुरस, पुस २ । । होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । होन्डुरसको राजधानी नजिकै रहेको पहाडमा दुर्घटनाग्रस्त बनेको रोयटर्सले जनाएको छ । हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान भरेका थिए । उडान भरे लगत्तै सेनाले विमान हराएको जानकारी दिएको थियो । पछि हेलिकप्टर पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ । राष्ट्रपतिको नेसनल पार्टीका प्रमुख रेयनाल्डो सान्चेजले हिल्डालाई ‘पार्टीको अथक योद्धा’ को संज्ञा दिँदै उनको चिर आत्माको शान्तिका लागि प्राथना गरेका छन् । यता, गत नोभेम्बर २६ मा भएको राष्ट्रिपति निर्वाचनपछि विवादमा रहेका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजले आफ्नो ट्वीटरको अकाउन्टमा कालो रिबन राखेका छन् । निर्वाचन आयोगले हर्नान्डेजले ४३ प्रतिशत मन ल्याएको र उनका प्रतिद्वन्द्वी साल्भाडोर नार्सालाले ४१।४ प्रतिशत ल्याएको घोषणा गरे पनि नार्सालाले धाँधली भएको भन्दै नतिजा नमान्ने बताएका छन् । हालसम्म विजेताको घोषणा हुन सकेको छैन । एजेन्सी