एभरेष्ट दैनिक

१७ किलो अवैध सुनसहित पक्राउ

लमजुङ, कार्तिक १६ । लमजुङको खुदीबाट १७ किलो अवैध सुनसहित एकजना पक्राउ परेका छन् । मनाङको नासोङ गाउँपालिका निवासी पासाङ गुरुङ १७ किलोग्राम अवैध सुनसहित पक्राउ परेका हुन् । मनाङबाट लमजुङ आउने क्रममा गुरुङलाई लमजुङको खुदीमा चेकजाँच गर्ने क्रममा १७ किलो अवैध सुनसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी पदमबहादुर विष्टका अनुसार पासङको साथबाट एक किलो लेखिएको सुनको १७ थान बिस्कुट बरामद गरिएको छ । डिएसपी बिष्टले बरामद सुनको परीक्षण र जोख्ने काम भइरहेको बताउनुभयो । १७ किलो अवैध सुनसहित पक्राउ खुदीबाट पक्राउ परेका गुरुङसँगको प्रारम्भिक बयानले सुन तस्करीका लागि तिब्बतसँग जोडिएको गोरखाको लार्केपास नाका प्रयोग भएको खुलेको छ । ‘गुरुङले यो सुन गोरखाको लार्केपास नाकाबाट भित्र्याएको बयान दिएका छन्’, डिएसपी विष्टले भने– ‘त्यहाँबाट यो सुन मनाङ लगेको पाइयो, त्यसपछि लमजुङको बेँसीसहर ट्रान्जिट हुँदै पोखरा लान खोजेको सुरुवाती अनुसन्धानबाट खुलेको छ ।’