एभरेष्ट दैनिक

अाज  प्रदेश सभाका २५६ र प्रतिनिधिसभाका १२८ र निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक १६ । प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । ४५ जिल्लाका प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका १२८ र प्रदेश सभाका २५६ निर्वाचन क्षेत्रमा अाज उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अाज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि आह्वान गरे । निर्वाचन आयोगले उच्च सुरक्षा व्यवस्था मिलाउन पनि सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ । आयोगले गत भदौ १४ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न पनि सबै पक्षलाई आग्रह गरेको छ । राजनीतिक दलले अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार बुधबार साँझसम्म टुंगो लगाएका छन् । तर, केही जिल्लाका निर्वाचन क्षेत्रमा भने टुंगो लाग्न बाँकी छ । आयोगले सुरक्षा निकायलाई सुरक्षा व्यवस्था मजबुत बनाउन पनि निर्देशन दिएको छ । दोस्रो चरणको निर्वाचनका लागि प्रमुख नेताहरूले उम्मेदवारी दिने भएकाले सुरक्षा व्यवस्थामा गम्भीरता अपनाउन आयोगले सुरक्षा निकायलाई निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए । उनका अनुसार उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समयसीमा तोकिएको छ । प्रत्यक्षतर्फका मतपत्र छापिँदै आयोगले सर्वोच्च अदालतको आदेशअनुसार प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फका मतपत्र छाप्न सुरु गरेको छ । प्रतिनिधिसभाको मतपत्रमा हरियो रंग र प्रदेश सभाका लागि कालो रंगको निर्वाचन चिह्न हुने गरी मतपत्रको ढाँचा स्वीकृत गरेर छाप्न सुरु गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामध्ये २१ जिल्लाका निर्वाचन क्षेत्रका लागि मतपत्र छाप्न सुरु भएको छ । अदालतको आदेशअनुसार प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र फरकफरक पानामा हुने गरी छाप्न लागेकाले केही बढी समय लाग्नेछ । तैपनि २१ कात्तिकसम्म मतपत्र छापेर जिल्ला पठाउन सुुरु गरिने आयोगको भनाइ छ । समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक १ करोड ७४ लाख मतपत्र भने छापिसकिएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्ष निर्वाचित हुने सदस्यका लागि छुट्टाछुट्टै पानामा मतपत्रको व्यवस्था गर्दा आवश्यक पर्ने मतपेटिका, स्वस्तिक छापलगायतका सामग्रीको व्यवस्थापन सुरु गरेको छ । अब हरेक मतदान केन्द्रमा तीनवटा मतपेटिका हुनेछन् । साथै केही मतदान केन्द्र पनि थप हुनेछन् । आयोगले कर्मचारी र सुरक्षाकर्मीको पनि थप व्यवस्थापन गर्नुपर्नेछ । आयोगले त्यसैअनुसार आवश्यक नियमावली र निर्देशिका परिमार्जन गर्न थालेको छ भने मतदाता शिक्षासम्बन्धी तालिम, प्रशिक्षण कार्यक्रम सञ्चालनको तयारी पनि गरेको छ । आयोगले पहिलाको मतदाता शिक्षासम्बन्धी कार्यतालिकामा परिमार्जन गरी मतदाता शिक्षा कार्यक्रम गर्नुपर्नेछ । अब यसअगाडि छापिएका मतदाता शिक्षासम्बन्धी सामग्री र १८ लाख नमुना मतपत्र नष्ट हुने भएको छ । आयोगका पक्षमा छु, ढुक्न हुनुस् : राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क भएर काम थाल्न आग्रह गरेकी छिन् । बुधबार आयोगका पदाधिकारीसँग छलफल गर्दै भण्डारीले निर्वाचन तोकिएकै मितिमा गराउनु राष्ट्रका लागि आवश्यक रहेको बताइन् । ‘निर्वाचन तोकिएकै मितिमा हुनेमा कतै द्विविधा छैन, सशंकित हुनुपर्दैन, हामी आयोगको साथमा छौँ । ढुक्क भएर अगाडि बढ्नुहोस्,’ राष्ट्रपति भण्डारीले आयुुक्तहरूसँग भनिन् । आयुक्तहरूले राष्ट्रपतिलाई निर्वाचनको तयारीबारे जानकारी गराएका थिए ।