एभरेष्ट दैनिक

नबिल बैंकको खुद नाफामा ६.६४% वृद्धि

काठमाडौं, कार्तिक १५ । नबिल बैंकले चालु आवको पहिलो त्रैमासमा ८५ करोड १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ६.६४ प्रतिशतले खुद नाफा वृद्धि गर्न बैंक सफल भएको हो । अघिल्लो वर्ष बैंकले ७९ करोड ८३ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी पनि ७. १० प्रतिशतले वृद्धि गरी १ अर्ब ३६ करोड ६ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । बैंकले २ लाख ९९ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि ९ करोड ४५ लाख १५ हजार रुपैयाँ छुट्याएको छ । नबिल बैंकले पनि नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ । बैंकले गत आवको पहिलो त्रैमासको तुलनामा ३०.०७ प्रतिशतले चुक्ता पुँजी वृद्धि गरी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ पुर्याएको छ । भारी मात्रामा चुक्ता पुँजी वृद्धि हुँदा प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५७ पैसाले घटेको छ । हाल बैंकको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ १० पैसा छ । बैंकले भारीमात्रामा चुक्ता पुँजी वृद्धि गर्दा खुद नाफा पनि सँगसँगै वृद्धि गर्दै लगेको देखिन्छ । यसबाट भविश्यमा बैंक झन् सबल बैंन्दै जाने अनुमान लगाउन सकिन्छ । बैंकको प्रतिशेयर नेटवर्थ पनि १४ रुपैयाँले घटेर १८४ रुपैयाँमा आएको छ । नबिलको रिजर्भ कोषमा ११.२४ प्रतिशत वृद्धि भएर ६ अर्ब ९० करोड ५० लाख ८२ हजार रुपैयाँ जम्मा भएको छ । यो आवको पहिलो त्रैमासमा बैंकको निक्षेप संकलन २.४५ प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ७ करोड ३० लाख ५९ हजार रुपैयाँ पुगेको छ । यसैगरी, ९४ अर्ब ९८ करोड ४४ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गर्न बैंक सफल भएको छ । कर्जा लगानी पनि अघिल्लो वर्षको तुलनामा १३.६९ प्रतिशतले वृद्धि भएको हो । बैंकले खराब कर्जा भने १.०९ प्रतिशतबाट बढेर १.११ प्रतिशतमा पुगेको छ । कस्ट अफ फन्ड पनि १.८८ प्रतिशतबाट बढेर ४.४० प्रतिशत पुगेको छ । बैंकको इक्विटीमा प्रतिफल घटेको छ । इक्विटीमा प्रतिफल २७.०३ प्रतिशतबाट घटेर २३.४५ प्रतिशतमा आएको हो । एजेन्सी