एभरेष्ट दैनिक

ओली र प्रचण्डलाई जिताउने जिम्मेवारी अध्यक्षद्वय रञ्जित र नविनालाई

काठमाडौं, कात्तिक १५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको बुधबार बसेको संयुक्त बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन समिति गठन गरेको छ । दुवै संगठनबाट सन्तुलित प्रतिनिधित्व हुने गरी बनाइने सो समितिले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देशभर वाम उम्मेदवारलाई जिताउन प्रचारप्रसार गर्ने अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको उपस्थितिमा भएको बैठकले मुलुकको आर्थिक विकास र सृमद्धिका लागि वाम उम्मेदवारलाई विजयी बनाउन दुवै संगठन क्रियाशील भई अगाडि बढने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई जिताउन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विजयी गराउन अनेरास्ववियुका अध्यक्ष नवीना लामालाई बैठकले जिम्मेवारी दिइएको छ । दुवै संगठनको बुधबार साँझ हुने संयुक्त विशेष कार्यकर्ता भेलालाई वाम नेता शंकर पोखरेल र वर्षमान पुनले प्रशिक्षण दिने कार्यक्रम छ ।