एभरेष्ट दैनिक

सामाजिक सुरक्षा भत्तासँगै चाडपर्व खर्च

बुटवल, असोज १० । बुटवल उपमहानगरपालिकाले नगरभित्र बसोबास गर्ने ज्येष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई सम्मानस्वरुप चाडपर्व खर्च उपलब्ध गराएको छ । उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन हुने गरी प्रतिव्यक्ति रु दुई हजारका दरले उक्त रकम उपलब्ध गराइएको हो । नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउँदै आएका ७५ वर्ष पुगेका ज्येष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई यस किसिमको रकम उपलब्ध गराउने निर्णयबमोजिम रकम वितरण कार्य शुरु गरिएको कार्यबाहक प्रमुख गुमादेवी आचार्यले जानकारी दिए । उक्त रकम उपमहानगरका १९ वटै वडा कार्यालयबाट वितरण गरिएको र वडा कार्यालयमा आउन नसक्ने व्यक्तिलाई घरमै पुगेर रकम उपलब्ध गराउने व्यवस्थासमेत गरिएको उनले बताए । बुटवल उपमहानगरपालिकाभित्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका सात हजार २७४ जनामध्ये नगरभित्र ३५२ एकल महिला, २५६ अपांग र पाँच हजार ९६६ जना ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक रहेको नगरपालिकाको सामाजिक शाखाले जनाएको छ । यही तथ्यांकका आधारमा बुटवल उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट बजेट विनियोजन गरेर चाडपर्व खर्च वितरण गरेको हो । यसका लागि उपमहानगरपालिकाको साउन ३२ गतेको प्रथम नगरसभाले रु एक करोड ४५ लाख ४८ हजार बजेट विनियोजन गरेको थियो । उपमहानगरपालिकाले यसरी चाडपर्वको बेला रकम उपलब्ध गराएकामा उक्त समूहका जनता निकै खुशी भएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १७ का अध्यक्ष रामप्रसाद रेग्मीले बताए । उनले जनताका प्रतिनिधिले ज्येष्ठ नागरिक, अपांग र एकल महिलाको सम्मानस्वरुप चाडपर्वका बेलामा सम्झनास्वरूप सो रकम दिइएको बताए । अहिले रकम बुझ्न नआएकालाई पनि दशैँपछिसम्म रकम दिइनेसमेत वडाध्यक्ष रेग्मीले जानकारी दिए ।