एभरेष्ट दैनिक

प्रधानमन्त्री देउवा अबुधाबीमा

युएइ, असोज ९ । प्रधानमन्त्री शेरबहादुर देउवा आज संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी आइपुगेका छन । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिई स्वदेश फर्कने क्रममा आइतबार दिउँसो अबुधाबी आइपुगेका हुन । प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आजै साँझ ५ बजे ओमनको मस्कटका लागि प्रस्थान गर्नेछ । त्यहाँ प्रधानमन्त्री देउवाले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपाली आप्रवासी कामदारले भोग्नुपरेका समस्या र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने कार्यक्रम छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुने छन । आजै प्रधानमन्त्री देउवाको सम्मानार्थ ओमन सरकारले रात्रिभोजको आयोजना गरेको उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराका स्वकीय सचिव युवराज चौलागाईंले जानकारी दिए । प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्नुका साथै सोही दिन राष्ट्रसंघ महासचिव एन्टिोनियो गुटेरससँग उच्चस्तरीय भेटवार्ता गरेका थिए । महासभाका दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना, पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासी र इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग भेटवार्ता गरेका थिए । प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनुहुन्छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल असोज १२ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस