एभरेष्ट दैनिक

उपभोक्ता ठगी नियन्त्रण गर्न बजार अनुगमनमा तीव्रता

अछाम, भदौ ३ । अछाम प्रशासनले पछिल्लो समय बजार अनुगमनमा तीव्रता दिएको छ । जिल्लाका सबै व्यापारिक क्षेत्रहरुमा उपभोक्ताहरु व्यापक ठगिने गरेको पाइएपछि प्रशासनले अनुगमनलाई कडाई गरेको हो । पछिल्लो २ महिना यता जिल्ला प्रशासन कार्यालय अछामको अगुवाईमा जिल्लाका मुख्य बजार क्षेत्रहरुमा पहिलो चरणको अनुगमन सम्पन्न भई चाडपर्वको मुखैमा दोस्रो चरणको अनुगमन सुरु गरिएको छ । जिल्ला सदरमुकाम मंगलसेन सहित साँफेबगर, जयगढ, बिनायक, कमलबजार लगायत क्षेत्रमा पहिलो चरणको अनुगमनका क्रममा ठुलो परिणाममा म्याद गुज्रिएको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएकोमा पुनः अनुगमन गर्न लागिएको प्रशासनले जनाएको छ । चाडपर्वका बेला उपभोक्ताहरु बढी ठगिने गरेको अवस्थालाई मध्यनजर गर्दै आक्रामकरुपमा अनुगमन कार्य अघि बढाएको प्रशासनले सदरमुकाम मंगलसेनबाटै नापतौलमा ठगी गरिरहेका दर्जनौं व्यापारीहरुलाई प्रशासनमा हाजिर हुन निर्देशन दिएको छ भने नापतौलमा प्रयोग भईरहेका ढक तराजु बरामद गरेको छ । अनुगमनका क्रममा मंगलवारमात्रै ८ थान ढक तराजु र अन्य म्याद गुज्रिएका खाद्यपदार्थ जफत गरेको अनुगमन समितिले तौलको लेवल तलमाथि गरेको, खिया लागेर चल्दै नचल्ने पुराना ढक तराजु प्रयोग गरिरहेको, म्याद सकिएका खानेकुरा बेचिरहेको, मासु पसले र होटेल सञ्चालकले सरसफाईमा ध्यान नदिएको भन्दै बदमासी गर्नेलाई कारवाही गर्ने जनाएको छ । दर्ता नै नगरी व्यवसाय सञ्चालन गरिरहेका, प्रमाणपत्रहरु र मुल्यसूची देखिने गरी नटाँसेका व्यापारीलाई एक हप्ताभित्रै व्यवसाय दर्ता गर्न र तत्काल मूल्यसूची राख्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक वकिल बहादुर सिंहले बताए । उनले भने ‘नियम अनुसार व्यवसाय दर्ता प्रमाणपत्र र मूल्यसूची सबैले देखिने गरी फ्रेमिंग गरेर नझुण्ड्याईएको खण्डमा ५ हजारसम्म जरिवाना तिर्नुपर्ने हुन्छ, तर कतिपयलाई यो कुरा जानकारी नहुन पनि सक्छ भन्दै पहिलो पटकलाई चेतावनी दिएर छाडिएको र अवका दिनमा पनी त्यस्तै पाईए कानुनी कारवाही भोग्न तयार रहन निर्देशन दिईएको छ ।’ अनुगमन टोली आएको बेला सटर बन्द गरेर भागेका र पसल छोडेर अन्यत्रै गएका व्यापारीहरुलाई पत्र काटेर प्रशासनमा हाजिर हुन र सबै कागजात पेश गर्न तथा त्यसो गर्नुको कारण पेश गर्न भनिएको जिल्ला प्रशासन कार्यालय राजु दमाईले बताए । बजार अनुगमन कार्यलाई अनुगमन समितीले तीव्रताका साथ अघि बढाएको र बदमासी गर्ने जो–कोहीलाई पनि कानुन अनुसार कारवाही गरिने उनले बताए । अछाममा सुनदेखिण् नुनसम्ममा व्यवसायीहरुले बदमासी गर्ने गरेका कारण पछिल्लो समय बजार अनुगमनलाई निरन्तर अगि बढाईएको अछाम प्रशासनको भनाई छ । यहाँका सुन चाँदी ब्यावसायिले अबैध डिजिटल तराजु प्रयोग गर्ने गरेका भेटिएको छ भने अनुदानको भानु नुन पसलमा बिक्री गर्ने गरेको भेटिएको छ । यसरी सामानै पिच्छे उपभोक्तालाई ठगी गर्ने व्यवसायीहरुलाई जिल्ला प्रशासन र गुणस्तर तथा नापतौल विभागले मुद्दा चलाई कारबाहीसमेत गरेको छ । यसअघि भएका अनुगमनमा साँफेबगर र मंगलसेनका व्यापारीहरुलाई एक चरणमा ११ जना र एक चरणमा १३ जनालाई तारिखे बनाएर छोडीएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समिति संयोजक तुलबहादुर काउचाले बताए ।