एभरेष्ट दैनिक

आचार संहिता उल्लंघन गरे कुनै दललाई पनि नछोड्नु : निर्वाचन आयोग

काठमाडौं, भदौ १४ । आचार संहिता उल्लंघन गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुखलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले यसअघि पनि आचार संहिता विपरितका काम नगर्न सचेत गराएको थियो । तर पनि उल्लघंन गर्ने क्रम भने रोकिएको थिएन । त्यसैले आयोगले कारवाहीका लागि निर्देशन दिएको हो । आयोगले दोस्रो पटक सूचना निकालेर प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको चुनावको लागि आचार संहिता लागु भैसकेको अवस्थामा केही दलले आचार संहिता विपरितका काम गरिरहेकाले उनीहरुलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । यस्तै कुनै दलले निर्वाचन आचार संहिता विपरित राजनीतिक दल वा उम्मेदवार हुने व्यक्तिले चुनाव चिन्ह अंकित टोपी, टिसर्ट, झोला तथा स्टिकरहरु वितरण गरे, तोकिएको आकारभन्दा ठूलो तथा एक भन्दा बढी रंगमा पोस्टर, पम्प्लेट टाँसे वा वितरण गरेको भेटिए आयोगमा जानकारी गराउन पनि सबैसँग आग्रह गरेको छ ।