एभरेष्ट दैनिक

बाढी पीडितलाई म्याद गुज्रेको सामान वितरण गरे कारवाही हुने

राजविराज, भदौ २ । जिल्ला दैवीप्रकोप उद्धार समिति, सप्तरीमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको सबै खाद्य सामग्री शुद्ध, गुणस्तरीय र मापदण्डअनुसार भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेको दावी छ । त्यस्ता म्याद गइसकेका कुनै पनि सामाग्रीहरु बाढीपीडितहरुलार्इ वितरण गरिएकाे पाइएमा उनीहरुलार्इ कानुनबमाेजम कारवाही हुने पनि उनले बताए । आज एक विज्ञप्ती जारी गर्दै सप्तरीको बाढीपीडितलाई केही स्थानमा वितरण गरिएको खाद्य पदार्थ तथा औषधिलगायतका सामग्री गुणस्तरहीन, म्याद नाघेका भेटिएको भन्ने समाचार बाहिर आएकोप्रति जिल्ला प्रशासन कार्यालय, सप्तरीको ध्यानाकर्षण भएको बताएका छन् । यो सत्यतथ्य कुराको छानबिन भइरहेको जानकारी दिँदै सम्बन्धित सबैमा जिम्मेवार रुपमा प्रस्तुत हुनसमेत उनको अनुरोध छ । अफवाहको पछाडि नलाग्न सम्बन्धित सबैलाई आग्रह गर्दै कुनै पनि व्यक्ति, संस्था वा निकायलाई म्याद नाघेका, गुणस्तरहीन औषधि तथा खाद्य पदार्थ बाढी प्रभावित क्षेत्रमा वितरण नगर्न र नगराउनु हुनसमेत प्रजिअ पाण्डेले विज्ञप्तिमार्फत सचेत गराइएको छ ।