एभरेष्ट दैनिक

टिकट वितरणमा विवाद, एमाले बैठकमै कुटाकुट

जनकपुर, साउन २८ । टिकट वितरणको विषयलाई लिएर नेकपा एमाले धनुषाको बैठकमै कुटाकुट भएको छ । जनकपुर उपमहानगरपालिकाको प्रमुख पदका लागि टिकटको टुंगो लगाउन बसेको बैठकमा एमालेभित्रका दुई समूहबीच कुटाकुट नै भएको भएको पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । उक्त पत्रकार सम्मेलनमा नेकपा एमाले लेखा समिति धनुषाका अध्यक्ष सहदेव मुखियाले एमालेका केन्द्रीय सदस्य तथा धनुषा इन्चार्ज श्रीप्रसाद साहले बाहिरका मान्छे लगाएर आफूहरुलाई कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाएका छन् । उनले नेकपा एमाले धनुषाको इन्चार्ज श्रीप्रसाद साहले गुट–उपगुट चलाएको तथा आफ्नै श्रीमती पिंकी साहलाई जनकपुर उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । २५ साउन बिहीबार राती जनकपुरस्थित सीता प्यालेस आयोजना गरिएको उम्मेदवार छनोट बैठकको क्रममा दुई पक्षबीच कुटाकुट भएको थियो, ततपश्चात बैठक स्थगित भएको थियो । पार्टीको हितविपरीत हेकमवादी प्रवृत्तिले काम गर्न खोजी रहेका भन्दै रघुवीर महासेठ पक्षधरहरुले साहको राजीनामाको माग गरेका छन् । लामो समयदेखि पार्टीमा लगानी भएका व्यक्तिहरुलाई पाखा लगाएर आर्थिक प्रलोभनमा परी दीपु यादवलाई टिकट दिन लागेको भन्दै बिहीबार बसेको नगर कमिटीको बैठकमा विवाद भएको थियो । जनकपुर उपमहानगरपालिकाको प्रमुख पदको लागि पाँचजना आकांक्षी उम्मेदवार देखिएका छन् । जिल्ला समिति सदस्यहरु लक्ष्मी नारायण भगत, श्याम पूर्वे, अमरनाथ गुप्ता, दीपु यादव र शुद्धोधन यादव लगायतका छन्।