एभरेष्ट दैनिक

जनतालाई अलपत्र हुन दिँदैनौं : मन्त्री साह

काठमाडौं, साउन २८ । भीषण वर्षाका कारण तराई मधेसका जिल्लाहरु जलमग्न र अस्तव्यस्त भएपछि सहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । लगातारको बर्षाका कारण सडक, पुल जताततै बाढी पसेर घरहरु समेत भत्कीएका छन् भने तराई मधेसका जनताहरुको विचल्ली भएकाले त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मन्त्री साहले बताए । रौतहट, सर्लाही लगायत तराई मधेसका जिल्लाहरुमा अविरल परेको बर्षाका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ । ‘जनताहरुको घर–घरमा बाढी पसेर खाद्य सामग्री र लत्ता कपडा भिजेका छन् भने प्रभावित क्षेत्रमा पानीनै पानी छ’ मन्त्री साहले भने, ‘जनताहरु डुवानमा भएकाले सरकारले उद्धारको कार्यलाई अगाडी बढाउन ढीला गर्नु हुदैन ।’ मन्त्री साहले उद्दार र राहतको कार्यलाई तत्कालै अगाडि बढाउन जिल्लास्थित सरकारी निकायलाई निर्देशन दिइसकेको बताए । उनले यस प्रकारको विपत्तिमा जनता–जनता, समुदाय–समुदाय समेतले एक अर्काको सहयोग गर्नुपर्ने बताए । हरेक नागरिकको सतर्कता र सक्रियता आवश्यक रहेकोमा उनले जोड दिए । मन्त्री साहले उनले बाढी र डुवान पीडित जनतालाई अलपत्र हुन नदिने दृढता व्यक्त गरेका छन् । सरोकारवाला निकायलाई एकीकृत रुपमा तत्काल आम जनतालाई राहत दिन आग्रह गरेको जानकारी दिँदै बाढी र डुवानका कारण विचल्लीमा परेका जनतालाई सुरक्षित बनाउन सबै निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताए ।