एभरेष्ट दैनिक

अमेरिकालाई उत्तर कोरियाको चेतावनी: ‘प्रतिबन्धको मूल्य चुकाउनुपर्छ’

प्योङयाङ्ग, साउन २४ । उत्तर कोरियाले आफ्नो देशमाथि लगाइएको प्रतिबन्धको मूल्य अमेरिकाले चुकाउनुपर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मत पारित भएपछि उसले अमेरिकालाई चेतावनी दिएको हो । प्रतिबन्ध लगाउन अमेरिकाको सबैभन्दा ठूलो हात रहेको ठहर गर्दै उत्तर कोरियाले त्यसको परिणाम भोग्न अमेरिकालाई गाह्रो पर्ने चेतावनी दिएको हो । उत्तर कोरियाले आफ्नो देशमाथिको प्रतिबन्धलाई सार्वभौमसत्तामाथिको आक्रमण भनेको छ । फिलिपिन्समा आयोजित क्षेत्रीय सम्मेलनका क्रममा उत्तर कोरियाका प्रवक्ता बैंङ्ग क्वाङ्ग ह्युकले कोरियाली प्रायद्वीपका केही स्थानको खराव अवस्था र परमाणु कार्यक्रमको सम्पूर्ण जिम्मेवारी अमेरिकाको भएको आरोप लगाए । यसअघि दक्षिण कोरियाले राखेको वार्ता प्रस्ताव उत्तर कोरियाले अस्वीकार गरेको थियो । साथै उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम जारी रहने चेतावनीसमेत दिएको छ ।