एभरेष्ट दैनिक

बढ्यो आत्महत्या गर्नेको संख्या

होम साउद अछाम, साउन १ । अछाममा झुण्डी आत्महत्या गर्नेको संख्या पछिल्ला वर्षहरुमा बढ्दै गएको पाइएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय अछामले गत आर्थिक वर्षमा भएका काम कारबाहीबारे जानकारी गराउन गरेको पत्रकार सम्मेलनमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । झुण्डिए आत्म हत्या गरेका २१ वटा घट्ना गए आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता भएको अछामका प्रहरी प्रमुख डिएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए । आत्महत्याका घट्ना अघिल्लो आर्थिक वर्ष ०७२/७३ मा भन्दा केही बढेको डिएसपी भट्टको भनाई छ । आ.व. ०७२/७३ मा १९ वटा आत्महत्याका घट्ना प्रहरीमा दर्ता भएकोमाा गत आवमा २ ले बढेर २१ पुगेको हो । आत्महत्या गर्नेमा ११ जना महिला र १० जना पुरुष रहेका जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय अछाममा वर्षभरीमा बिभिन्न प्रकृतिका गरि ५७ वटा मुद्धा दर्ता भएको समेत जनाईएको छ । दर्ता भएका ५७ घट्ना मध्ये २६ पुरुष, १६ महिला, १ बालक र ५ बालिका गरि ४८ जनाको मृत्यू भएको जनाईएको छ । ति मध्ये २२ वटामा महिला पीडित छन भने १८ वटा अदालतमा पेश भएका छन । पेश भएकामा पनि १३ वटा फैसला भईसकेका छन । अदालत पुगेकामा ५ वटा फैसला हुन बाँकी छन भने ३९ वटा अदालतमा पेश गर्न बाँकी मुद्धा रहेको डिएसपी भट्टले जानकारी दिए । ५७ मुद्धा मध्येमा ५ वटा कर्तब्य ज्यान, ९ वटा भवितब्य ज्यान, ७ वटा फुटकर ज्यान, ३ वटा ज्यान मार्ने उद्योग २१ वटा झुण्डि आत्म हत्या, सार्वजनिक अपराधको १, बहुबिवाहको १, सवारी ज्यान अन्तर्गतको ४, जबरजस्ती करणीका ३, जबरजस्ती करणी उद्योगका २ र तेजाव सेवन गरेको १ मुद्धा रहेको जनाईएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा ६० वटा मुद्धा दर्ता भएका थिए । यसैविच जिल्ला प्रहरी कार्यालय अछाम मातहतका प्रहरी यूनिहरुमा गरि वर्षभरीमा जम्मा ८ सय ३४ वटा ठाडो उजुरी परेका छन । ति मध्ये ६ सय ८१ अन्य र १ सय ५३ महिला हिंसा तथा घरेलु हिंसा सम्वन्धि उजुरी रहेको देखीएको छ । ठाडो उजुरीहरुमा अधिकाँश मिलापत्रमा टुङ्ग्याईएका छन । यस्तै जिल्ला प्रहरी कार्यालय अछामले जिल्ला अदालतवाट दोषी ठहर भई फरार सुचीमा रहेका ६ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका मध्ये चोरी, बहुबिवाह, भ्रष्टाचार लगायतका मुद्धामा दोषि ठहर भएका अभियुक्त रहेको जनाईएको छ । यस्तै १८ जना ब्याक्ति हराएको निवेदन परेकोमा १० जना फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामले कार्यालय र मातहतका प्रहरी कर्मचारीहरु मध्ये १५ जनालाई राम्रो काम गरेवाफत पुरस्कृत गरेको छ भने २० जना प्रहरी कारबाहीमा परेका छन ।