एभरेष्ट दैनिक

संविधान संशोधनबारे राजपामा दुई धार

काठमाडौं, साउन १ । राजपाभित्र संविधान संशोधन र निर्वाचनमा सहभागिताबारे दुई धार देखिएको छ । संशोधनविना निर्वाचनमा जाने कि नजाने भन्ने विवाद राजपामा सुरु भएको छ । आन्तरिक विवादकै कारण १४ असारमा सम्पन्न दोस्रो चरणको निर्वाचनमा राजपा सहभागी भएको थिएन । तत्काल संशोधन पारित हुने अवस्था नभएकाले प्रक्रियालाई थाती राखेर निर्वाचनमा जानुपर्ने पक्षमा राजपाभित्र ठूलो मत छ । स्रोतका अनुसार संविधान संशोधन प्रक्रियामा जाने क्रममा मतदान हुँदा फेल भए के गर्ने भन्नेमा बढी विवाद देखिएको छ । तत्काल संशोधन पारित हुने अवस्था नभएकाले प्रक्रियालाई थाती राखेर निर्वाचनमा जानुपर्ने पक्षमा राजपाभित्र ठूलो मत छ । यो धारले संशोधन विधेयक संसद्मा फेल भएको अवस्थामा पनि निर्वाचनमा सहभागी हुनुपर्ने तर्क गरिहेको छ । पार्टी एकताकाे दिन राजपा नेताहरू राजपा संयोजक महन्थ ठाकुर, शरत्सिंह भण्डारी र महेन्द्र राय यादव खुलेर निर्वाचनको पक्षमा उभिएका छन् । यो धार तत्काल संविधान संशोधन प्रक्रिया अगाडि बढाउन नहुने र संसद्को प्रक्रियामा विधेयक फेल भए पनि निर्वाचनमा सहभागी हुनुपर्ने अडानमा छ । तर, राजपाको अर्को धारले संशोधन विधेयक प्रक्रियामा लैजानुपर्ने, तर फेल भएको अवस्थामा निर्वाचनमा सहभागी हुन नसकिने अडानमा छ । राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादवले यो धारको नेतृत्व गरिरहेका छन् । मंगलबार कांग्रेस र माओवादी केन्द्रसँग भएको छलफलमा संशोधन विधेयक पारित गराउन एमाले र राप्रपासँग दुवै पक्षले छलफल गर्ने सहमति भएको थियो । तर, योबीचमा एमालेसँग कुनै छलफल भएन । तर, राप्रपाको दुवै पक्षसँग भने छलफल भइरहेको छ । त्यसले प्रगति दिन नसकेको राजपाका नेताहरूले बताएका छन् । नयाँ पत्रिकाबाट