एभरेष्ट दैनिक

‘जग्गा जासूस’ चलचित्रकी नायिकाद्वारा आत्महत्या

मुम्बई, हालै मात्र सार्वजनिक भएको चलचित्र ‘जग्गा जासूस’की नायिका बिदिशा डेबबरुआले आत्महत्या गरेकी छिन् । भारतको आसाम मूलकी कलाकार बिदिशाको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सोमबार साँझ गुरुग्रामको सम्भ्रान्त क्षेत्र मानिने सुशान्त लोकमा घरभित्र ढोका बन्द गरेको अवस्थामा उनको शव भेटिएको थियो । प्रहरीले भने आत्महत्यासँगै कुनै सुसाइड नोट फेला नपरेकोले घटनालाई शंकाष्पद मानेको छ । भारतीय मिडियाहरुमा उल्लेखित समाचार अनुसार, बिदिशाको बिहे १४ महिना अघि गुजरातका निशिर जैनसँग भएको थियो । प्रेम विवाह भएपनि दुबैबीच बारम्बार विवाद हुने गरेको थियो । यही कुरामा बिदिशाका बुआ आमाले प्रहरीमा समेत बिदिशाको श्रीमानविरुद्ध रिपोर्ट दर्ता गरेका थिए । मिडियाले बिदिशाको श्रीमानको अरु कोहीसँग अफेयर भएको बताएका छन् । केहीले भने कलाक्षेत्रमा सक्रिय बिदिशाको दिनचर्यासँग उनका श्रीमान असन्तुष्ट भएपछि झगडा बढ्दै गएको बताएका छन् । प्रहरीले बिदिशाका श्रीमानलाई समेत बोलाएर सोधपुछ गरेर घटनाबारे अनुन्धान सुरु गर्ने जनाएको छ ।