एभरेष्ट दैनिक

७ नं. मा माओवादीको पुरानै लहर फर्कियो– लेखराज भट्ट

पहिलो संविधानसभामा अधिकांश निर्वाचन क्षेत्रमा सफलता प्राप्त गरेपनि दोश्रो निर्वाचनमा भने माओवादीले सुदूरपश्चिमका नौ वटा जिल्लामा नराम्ररी पराजय भोग्यो । यो सँगै पार्टीको आन्तरिक संगठन समेत कमजोर भयो । पार्टी विभाजनले यसमा झन पीडा थप्यो । माओवादी केन्द्रभित्र समेत अन्तरविरोधको चर्चा सार्वजनिक भयो । तर स्थानीय चरणको निर्वाचनसम्म आइपुग्दा भने माओवादीले आफूलाई पुनर्जीवित गर्न सफल भएको दावी गर्छन् प्रदेश इन्चार्ज लेखराज भट्ट । प्रदेश नं. ७ मा के छ चुनावी माहौल, कस्तो छ संगठनप्रतिको आकर्षण, यिनै विषयमा एभरेष्टदैनिकडटकमका लागि गोकर्ण भट्टले लिएको अन्तर्वार्ता: कस्तो भइरहेको छ चुनावको प्रचार ? सात नम्बर प्रदेशमा जनतामा निकै उत्साह छाएको छ । निकै लामो समयपछि चुनाव भइरहेकोले जनतामा बेग्लै उर्जा देखिन्छ । यसले हामीलाई समेत जिम्मेवारी थपेको छ । जनताका माझ गइरहेका छौं । वडा वडामा साथीहरु घरदैलो, सभालगायतका कार्यक्रम गरिरहेका छन् । केन्द्रदेखि प्रदेश र स्थानीय तहका सबै साथीहरु रातदिन हिँडेका छन् । सुदूरपश्चिममा संगठन छिन्नभिन्न भएको अवस्था थियो, कसरी सम्हाल्नुभयो ? विगतमा त्यो देखिएको हो । खासगरी पार्टीमा फूट, जनतामाझ जाने कार्यक्रमको अभाव, केन्द्रबाट समेत विशेष पहल नहुनु जस्ता कतिपय समस्याले समर्थक जनता र कार्यकर्ता निष्क्रिय अवस्थामा थिए । तर पार्टी एकतासँगै हामीले सबै जिल्लाका स्थानीय तहमा संगठन निर्माण गर्यौं । हामी सबै नेताहरु यसका लागि सक्रियरुपमा लाग्यौं । जसले गर्दा अन्य दलहरुभन्दा अगाडि नै हामीले नगर, गाउँ र वडामा संगठन निर्माण गरिसकेका थियौं । यसले पुराना साथीहरुले नवीकरण गर्ने र नयाँलाई प्रवेश गराउन सफल भयौं । यो लगत्तै निर्वाचनको मिति तोकिएकोले नयाँ संगठनलाई पुरै निर्वाचनमा होमेका छौं । अहिले हामी पुरानै अवस्थामा फर्केका छौं । जनतामाझ जाँदा उनीहरुको प्रतिक्रिया चाहिँ के पाउनु हुन्छ ? जनताले हामीलाई माया गर्छन् । हिजो युद्दकालका कुराहरु पनि केहीले नझिक्ने होइनन् । वर्गयुक्त समाजमा हामीलाई सबैले मन पराउँछन् नै भन्ने होइन । तर अहिले चारैतिर हाम्रो विचार या सिद्दान्त मन परे नपरेपनि ‘जे गर्छ माओवादीले नै गर्ने रहेछ’ भन्ने परेको छ । त्यसैले जनताले ‘यसपटक चाहिँ यिनीहरुलाई नै मौका दिएर हेरौं’ भन्ने परेको छ । अर्कोतर्फ माओवादी र जनताबीचको सम्बन्धमा समेत गुणात्मक परिवर्तन भएको छ । हिजो हामी युद्दमा छँदा र अहिलेको अवस्था फरक छ । त्यसले गर्दा पनि जनतासँगको सम्बन्ध त्यही स्तरमा विकास गरेका छौं । गाउँका विकास निर्माणदेखि अन्य अन्याय, अत्याचारका सबै घटनामा हाम्रै साथीहरु निरन्तर सक्रिय छन् । दोश्रो संविधानसभामा पराजित भएपछि पनि सबै साथीहरु स्थानीयस्तरमा नै जनताका लागि संघर्षरत् छन् । त्यसले गर्दा राजनीतिक चरित्र र इमान्दारिता माओवादीमा छ भन्ने परेको छ जनतामा । हाम्रा कमजोरीहरु पनि जानि जान भएका छैनन् । हाम्रो उद्देश्य र नियत पवित्र छ भन्ने कुरा बुझाउन सफल भएका छौं । पार्टीभित्रको उत्साह कस्तो छ, अन्तरविरोधका कुरा पनि सुनिन्छन् ? त्यस्तो केही छैन । बिरोधी साथीहरु निहित फाइदाका लागि पार्टीभित्र विवादका कुरा सार्वजनिक गर्छन् । जबकि हामीभित्र त्यस्तो केही देखिन्न । त्यसैपनि राज्यबाट उत्पीडित र शोषित क्षेत्र हो ७ नं. प्रदेश । हामीले धेरै तहमा लडाई लड्नु परिरहेको छ । यसलाई बुझेर पनि हामी एकताबद्ध छौं । बीचमा बाबुरामजीहरु जानुभयो, तर त्यसको केही पनि असर हाम्रो प्रदेशमा परेन । यसले पनि हामीबीच विवाद छैन र नेतृत्वले अघि सारेको विचारमुनि सबै एकढिक्का भएर लागेका छौं भन्ने प्रष्ट हुन्छ । कतिपय कार्यशैली र संगठनात्मक पद्धतीका विषयमा सामान्य विवाद हुनु जीवित पार्टीमा स्वभाविक हुन्छ । नयाँ शक्तिमा गएकाहरु त सबै फर्काउनु भएछ ? सबै साथीहरु फर्के । त्यतिखेर पार्टीले कुनै कार्यक्रम जनतामाझ लैजान नसक्दा निराश भएका साथीहरु नयाँ शक्तिमा गएका थिए । तर नयाँ शक्तिको गठन हुँदा जुन भ्रम छरिएको थियो, त्यसको वास्तविकता बिस्तारै बुझे साथीहरुले । अनि एकपछि अर्को गर्दै करिब करिब सबै साथीहरु फर्किनुभएको छ । नयाँ शक्तिमात्रै होइन, एमालेभित्रका पनि चिन्तनशील साथीहरु आउनुभएको छ । अहिले हामी राम्रो अवस्थामा छौं । कति स्थानमा जित्ने देख्नुभएको छ ? अहिले नै यति भन्न राम्रो नहोला । तर पहाड र तराईका जिल्लामा देखिएको उत्साहले हामी पनि उत्साहित भएका छौं । कतिपय ठाउँमा स्थानीयस्तरमा तालमेल पनि गरेका छन् साथीहरुले । तराई र पहाडका उल्लेख्य स्थानीय तहमा हाम्रो विजय हुन्छ । हामी पुरानै अवस्थामा फर्किन्छौं । तपाईहरुको प्रतिष्पर्धि नेपाली कांग्रेस र एमालेको कस्तो छ अवस्था ? संगठनात्मकरुपमा उनीहरु निकै पुरानो पार्टी हुन । तर एजेण्डाका हिसाबले उनीहरुले मत माग्ने आधार छैन । उनीहरुसँग नयाँ सोच, भिजन, विचार र एजेण्डा छैनन् । देशको समृद्धि, प्रदेशको समृद्धि र स्थानीय तहको समग्र विकासका लागि माओवादी मात्रै सक्षम छ, माओवादीले मात्रै अप्ठ्यारा अवस्था चिरेर जानसक्छ भन्ने कुरा जनतामा स्थापित भएको छ । अर्कोतर्फ उनीहरु पदका लागि लुछाचुँडी गरेको अवस्था छ । हाम्रा लागि एजेण्डा प्रधान छ, उनीहरुका लागि पद । यो कुरा पनि जनताले बुझेका छन् । उनीहरुकै कार्यकर्ता पनि के का लागि यिनीहरुलाई भोट दिने ? उही पुरानो चिन्तन कायमै रहे भन्न थालेका छन् । राज्यले नै विभेद गरेको क्षेत्र, कसरी गर्नुहुन्छ विकास ? हाम्रो लडाई दुई तहमा हुन्छ । एकातिर राज्यले नै यो क्षेत्रलाई हेपेको छ, पछाडि पारेको छ । अर्कोतर्फ यहीँभित्र पनि बिभिन्न तहमा विभेद छ, असमानता छ । त्यसैले हामीले आफूभित्रका असमानता र विभेदको अन्त्य गर्दै आत्मनिर्भर र समृद्ध बन्ने बाटो समात्नुपर्छ । सँगसँगै राज्यसँग समेत हाम्रो समानता र अधिकारका लागि लडाई लड्नुपर्छ । यो देशमा थुप्रै पार्टीका सरकार बने । तर इतिहासमा पहिलोपटक प्रचण्ड नेतृत्वको सरकारको पालामा देशैभरीका स्थानीय तहमा समानुपातिक ढंगल बजेट वितरण भएको छ । जस्तो पुर्चौंडी नगरपालिकाको बजेट झापाको कुनै नगरपालिका बराबर छ । यो ठूलो उपलब्धि हो । यसले माओवादीले मात्रै यो क्षेत्रलाई न्याय गर्न सक्छ भन्ने पुष्टि हुन्छ । जनताले बिस्तारै यो कुरा बुझ्ने मैले विश्वास लिएको छु ।