एभरेष्ट दैनिक

एथलेटिको मड्रिड फाइनलमा 

काठमाडौं । युरोपियन फुटबलको नयाँ सिजन सुरु अघि (प्रि सिजन) जर्मनीमा हुने औडी कप फुटबलमा स्पेनिस क्लब एथलेटिको मड्रिड विजयी भएको छ । जर्मनीको म्युनिखमा मंगलबार राति भएको खेलमा १० खेलाडीमा सिमित एथलेटिको मड्रिडले इटालियन क्लब नापोलीलाई २ – १ ले पराजित गरेको हो । एलिनाज स्टेडियममा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै एथलेटिको मड्रिडले जित निकालेको हो । जितसँगै एथलेटिको मड्रिड चार टोलीले खेल्ने दुई दिने प्रतियोगिता औडी कपको फाइनलमा पुगेको छ । फाइनलमा एथलेटिकोले इंग्लिश क्लब लिभरपुलको सामना गर्नेछ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नापोलीले सुरुवाती अग्रता बनाएको थियो । खेलको ५६ औं मिनेटमा जोसे मारिया केलजोनले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ७२ औं मिनेटमा एथलेटिकोको लागि फर्नान्डो टोरेसले बराबरी गोल फर्काए । त्यसपछि ८१ औं मिनेटमा लुसियानो डारियोले गोल गर्दै एथलेटिकोलाई २ – १ को अग्रता दिलाए । खेलको ८९ औं मिनेटमा डिफेन्डर डिएगो गोडिन दोहोरो पहेलो कार्डका कारण रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि केहि समय एथलेटिको मड्रिड १० खेलाडीमा सिमित भएको थियो । तर, एथलेटिको १० खेलाडीमा सिमित भएको फाइदा नापोलीले उठाउन सकेनन र खेल २ – १ ले गुमाउन बाध्य भयो ।