माओवादीले नेतृत्व गरेको वडा उत्पादनमा नमूना बन्दैः एकैपटक ३६ लाखको लसुन निर्यात
८ भदौ, २०८१
रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० बाट ३६ लाख रुपियाँभन्दा बढीको लसुन बिक्री भएको छ । वडाको झ्याङ, झान्डारी, खर्सुपानी, चौर, गलम्पाटी, नमुना बस्तीलगायतका टोलबाट ३६ लाख १२ हजार पाँच सय रुपियाँ बराबरको लसुन बिक्री भएको हो । यो वडाको नेतृत्व माओवादी केन्द्रका युवा नेता धनबहादुर खड्काले गर्नुभएको छ। उहाँका अनुसार यस सिजनमा वडामा उत्पादन भएको ४८९ क्विन्टल लसुनमध्ये २८९ क्विन्टल लसुन बिक्री भएको हो । प्रतिकिलो १२५ रुपियाँका दरले लसुन बिक्री भएको उहाँले जानकारी दिनुभयो । उहाँले एक सय क्विन्टल लसुन काठमाडौँ, ८९ क्विन्टल लसुन पोखराका व्यवसायीले खरिद गरेर लिएको बताउनुभयो । एक सय क्विन्टल लसुन भने रोल्पा र दाङका तीन जना व्यापारीले खरिद गरेर राखेका छन् । दुई सय क्विन्टल लसुन भने किसानले नै राखेका छन् । उनीहरूले अर्को सिजनमा बिउका लागि उक्त लसुन घरमै राखेका हुन् । यस वडाका करिब डेढ सय किसानले व्यावसायिक रूपमा लसुन खेती गर्दै आएका छन् । किसान इन्द्रकुमार खड्काले नौ क्विन्टल बढी लसुन बिक्री गरेर एक लाख १३ हजार रुपियाँ प्राप्त गरेको बताउनुभयो । सहरका व्यापारी गाउँमै आएर किसानको उत्पादनलाई उचित मूल्य दिएको उहाँको भनाइ छ । अर्का किसान खिमबहादुर ओलीले एक लाख तीन हजार मूल्यमा ८२४ किलो लसुन बेचेको जनाउनुभयो । उहाँले पहिला गहुँ खेती गरेको जग्गामा लसुन खेती गर्दा फाइदा भएको बताउनुभयो । सुरुमा बजारको समस्या भए पनि वडा कार्यालयले व्यापारी गाउँमै आउने वातावरण मिलाइदिएकाले गाउँमा लसुन खेती गर्नेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । यस वडामा २०७५ सालदेखि लसुन उत्पादन हुँदै आएको छ । सुरुका वर्षमा दाङका व्यापारीले यहाँको लसुन खरिद गरेर लैजाने गर्दथे । यस वर्षदेखि भने पोखरा र काठमाडौँ लसुन जान थालेको हो । लसुन खरिदका लागि पाँच जना व्यवसायी आएर किसानसँग मूल्यमा सम्झौता गरेपछि एकसाथ लसुन बिक्री भएको हो । यसका लागि वडा कार्यालयले नियमित सहजीकरण गरिरहेको छ । काठमाडौँ, पोखरा र दाङमा अझै लसुनको माग रहेको वडाध्यक्ष खड्काले बताउनुभयो । यस क्षेत्रमा लसुनका साथै सुन्तला, कागती, अदुवा, अलैँचीलगायतको राम्रो उत्पादन हुने गर्दछ । मुसीकोट नगरपालिकाले उक्त वडालाई लसुन पकेटसमेत घोषणा गरेको छ । लसुन उत्पादनको पहिचान झल्कने गरेर वडाको झ्याङ बस्तीमा लसुन पार्कसमेत निर्माण गरिएको छ । वडाध्यक्ष खड्काले वडामा हुने सबै कृषि उपजको दिगो बजार व्यवस्थापन गर्नतर्फ अग्रसर रहेको जनाउनुभयो । वडा सरकारको पहलमा एकघर एक खानेपानी धाराको व्यवस्था गरिएपछि हरेक घरपरिवारलाई पानी संकलन गरेर कृषि उत्पादन गर्न सहज भएको छ। संस्थापक वडा अध्यक्ष गोप्यश्वर केसीको पालामा सुरु भएको एक घर एक धाराको योजनाको सार्थकता पाएपछि स्थानीयलाई कृषि क्रान्तिमा अघि बढ्न सहज भएको हो। प्रथम कम्युनिष्ट सहिद कामी बुढा जन्मेको यो वडामा जनयुद्धका क्रममा चक्रराम बुढा ‘छहरा’ र देवीलाल परियार ‘विजय’ सहिद हुनुभएको थियो । उहाँहरुको नामबाट स्थापित छवि बहुउद्देश्यीय सहकारीले कृषि उपजको बजार व्यवस्थापन गर्ने काम गरिरहेको छ। वडाले स्थानीय छवि बहुउद्देश्यीय सहकारी संस्थालाई कृषि उपजको सङ्कलन र बजारीकरणका लागि अगाडि सारेको छ । त्यसै गरी वडाको पहलमा उत्पादन, बजार व्यवस्थापन र किसान तथा सहकारीलाई प्रोत्साहनका कार्य हुँदै आएका छन् ।
चाडबाड मुखैमा, बजारमा छैन चहलपहल !
८ भदौ, २०८१
१४ जनाको शव निकालियो, १६ घाइतेको उद्धार
७ भदौ, २०८१
परराष्ट्रमन्त्री राणा स्वदेश र्फिता
६ भदौ, २०८१

