एभरेष्ट दैनिक

भित्रभित्रै प्रचार, बाहिर बिरोधको रणनीतिमा एमाले

चितवन, जेठ २१ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्णय गरेपछि एमालेले बिरोध गरेको छ । एमाले समर्थक भातृ संगठनहरुले आयोगको निर्णयको बिरोधमा सार्वजनिक प्रदर्शन पनि गरेका छन् । बाहिर बिरोध गरेपनि एमालेले भित्रभित्रै भने एक साता अघिदेखि नै वडा नं. १९ मा मेयरका उम्मेदवार देवी ज्ञवालीका पक्षमा प्रचार तीब्र पारेको छ । एमालेले बिरोध गरेर मुद्दालाई चर्चामा ल्याउने रणनीति लिएको देखिन्छ । भरतपुरको विषयलाई राष्ट्रिय एजेण्डा बनाउँदा त्यसको फाइदा चुनावमा हुनसक्ने आँकलन गरेर एमालेले यो रणनीति लिएको हुन सक्छ । निर्वाचन आयोगको निर्णय आएलगत्तै एमालेले औपचारिकरुपमा नै निर्णयको बिरोध गर्दै संसद अवरोध गर्ने र सर्वोच्च अदालतमा जाने निर्णय गरेको थियो । एकातिर संसद अवरोध र सडकमा प्रदर्शन गरेर मुद्दालाई चर्काउने, अर्कोतर्फ सर्वोच्चमा मुद्दा हालेर भोली आफ्नो विपक्षमा फैसला आयो भने ‘अदालतको सम्मान’ भनेर सहानुभूतिको भोट समेत प्राप्त गर्ने एमालेको आँकलन देखिन्छ । यो रणनीतिले सदन अवरोध तथा सडक प्रदर्शनबाट चर्चा बटुलिने, आम जनताको ध्यान एमालेको अडानतर्फ मोडिने र अर्कोतर्फ अदालतको निर्णय जस्तो सुकै आएपनि त्यसले समेत फाइदा पुग्ने बुझाई एमालेको देखिन्छ । यता बाहिर हेर्दा बिरोध र अदालतमा न्याय माग्ने रणनीति अन्तर्गत एमालेले १९ नं. वडामा भने आफ्ना पक्षमा मत माग्ने कामलाई समेत तीब्रता दिएको छ । एमालेका नेता तथा कार्यकर्ताहरुले प्रत्यक्ष र अप्रत्यक्षरुपमा वडाका प्रभावशाली व्यक्तिहरुसँग आन्तरिक छलफल तीब्र बनाएका छन् । उनीहरुले काँग्रेसका जिल्ला र स्थानीय नेतासँग समेत छलफल गरेको श्रोतको दावी छ । भरतपुरको विषय राष्ट्रियस्तरमा पार्टी र शीर्ष नेतृत्वको प्रतिष्ठाको विषय नै बनेको र यसको परिणामले दोश्रो चरणको निर्वाचनमा समेत प्रत्यक्ष प्रभाव पर्ने आँकलनसहित एमालेले केन्द्रीय तहबाट नै जिल्ला नेतृत्वसँग समेत पटकपटक छलफल गरेको श्रोतले बतायो । वडा नं. २० को मत गन्न बाँकी नै रहेको अवस्थमा वडा नं. १९ मा हुने निर्वाचनमा अलिकति भोट मात्रै कम हुने अवस्थामा हार्न सक्ने आँकलन जिल्लाले केन्द्रमा रिपोर्ट गरेको एक एमाले नेताले बताए । ”त्यसैले पनि १९ नं. वडामा हामीले उल्लेख्य अग्रता लिनैपर्छ भन्ने बुझाई हो । जे पनि हुनसक्छ । पार्टीले यही बुझेर निर्णय गरेको हो” उनले भने । काँग्रेसले भन्यो– सबै शक्ति रेणुका पक्षमा एमालेले नेपाली कांग्रेसका स्थानीय नेताहरुसँग आफ्ना पक्षमा भोटका लागि लबिङ गर्न या चुप लागेर बस्न अनुरोध गरेपनि जिल्ला नेतृत्वले भने यसअघिको विवादलाई बिर्सेर पार्टीको सम्पूर्ण शक्ति रेणुका पक्षमा लाग्ने बताएको छ । नेपाली कांग्रेसले यही अनुसार, आफ्ना वडा कार्यकर्ता तथा नेतालाई रेणुका पक्षमा माहौल बनाउन र यसअघिको निर्वाचनको समीक्षा गरेर सोही अनुसार आफ्ना समर्थकमध्ये को कसले मत दिएनन भन्ने कुरा केलाउन समेत भनेको नाम नबताउने शर्तमा जिल्ला समितिका एक शीर्ष नेताले बताए । “अहिले खुलेर प्रचार गर्न मिल्दैन, तर यसअघि हाम्रै कतिपय समर्थकले पनि यो वा त्यो कारणले मतदान केन्द्र जान नसकेको अवस्था देखियो । हाम्रा सबै मत सुरक्षित गर्ने हाम्रो पहिलो रणनीति हो ।” उनले भने, “हाम्रा मत मात्रै रेणुका पक्षमा सुरक्षित गर्न सकिए जितिन्छ” ढुक्क छैनन् माओवादी र एमाले एमालेले भरतपुरका विषयमा केन्द्रीयस्तरमा नै गम्भीर भएर रणनीति बनाए पनि माओवादी केन्द्रले भने यसबारेमा कुनै रणनीति बनाउन असफल नै भएको छ । यसअघि पार्टीको कार्यालय बैठकमा भरतपुरबारे चर्चा भएपनि त्यहाँ रेणुका पक्षमा माहौल बनाउन के कस्तो रणनीति बनाउने भन्ने विषयमा भने छलफल हुन सकेन । स्थानीयस्तरमा जिल्ला पार्टीलाई नै केन्द्रले सबै जिम्मेवारी दिएको छ । केन्द्रबाट प्रचारात्मकदेखि माहौल बनाउने कामतर्फ पार्टी लागेको देखिँदैन । पुनः मतदानमा एक दुई मतको अन्तर समेत निर्णायक बन्ने भएकोले दुबै दल ढुक्क भने देखिँदैनन । यद्यपी दुबैले आफू जित्ने दावी भने गरेका छन् ।