एभरेष्ट दैनिक

अरुको अंक सारेर डिआइजी सिलवालले पेश गरे सर्वोच्चमा फाइल

काठमाडौं, वैशाख १५ । डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेश गरेको फाइल अरूकाे अंक सारेर कीर्ते फाइल पेश गरेकाे प्रमाणित भएको छ । अपराध अनुसन्धान विभाग अन्तर्गत केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले फाइलको अध्ययन गर्दा कीर्ते भएको प्रमाणित भएको हो । सर्वोच्चमा पेश गरिएको फाइलमा दुई अंक बढी देखिएको थियो। अभिलेख रहने तीन निकायमध्ये लोकसेवा आयोगको मूल्याकंन फाइल भने आगामी १९ गते पेशी परेका दिन खोलिनेछ । सिलवालको कागजात फर्जी रहेको दाबीसहित मन्त्रिपरिषद् कार्यालयले छानबिनका लागि प्रहरीलाई निर्देशन दिएको थियो । डिआइजी सिलवालले आफूले प्राप्त गरेको अंकभन्दा बढी देखाउन अरुको अंक सारेर फाइल बनाएको प्रमाणित भएको छ । प्रहरी अधिकारीहरुको कार्यसम्पादन मूल्यांकन अभिलेख र सर्वोच्च अदालतमा पेस भएको फाइलमा दुई अंकको फरक पाइएको हो । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पेश गरिएको भन्दा सर्वोच्चमा पेश गरिएको कार्यसम्पादन मूल्याकंन फाइलमा दुई अंकको फरक पाइएको थियो । प्रहरी प्रधान कार्यालयले डीआईजी विजयकुमार भट्ट, एसएसपी पवन खरेल, एसपी राजुबाबु श्रेष्ठ, डीएसपी मोहन थापा र इन्सपेक्टर मदन कुँवर सम्मिलित छानबीन समिति गठन गरेको थियो । समितिले बयानका लागि बोलाउँदा सिलवाल उपस्थित नभएको भन्दै पक्राउसमेत गरिएको थियो । डीआइजी जयबहादुर चन्द प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि डीआइजी नवराज सिलवालले आफूलाई अन्याय परेको भन्दै अदालतमा ज्येष्ठता तथा कार्य सम्पादन मूल्यांकन फाइल अदालतमा बुझाएका थिए । सिलवालले अदालतमा बुझाएको उक्त फाइल कीर्ते भएको प्रहरी विधि विज्ञान प्रयोगशालाको अध्ययनबाट भेटिएको हो ।