एभरेष्ट दैनिक

बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भाग्ने पक्राउ

काठमाडौं, वैशाख १७ । बैंकमा रकम जमा गर्न पठाएको व्यक्तिले नै पैसा बोकेर कुलेलम ठोकेपछि के होला ? यस्तै घटना भएको छ काठमाडौंमा । बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भाग्ने सिन्धुली कपिलकोट–६ घर भई काठमाडौं महानगरपालिका–९, पुरानो गुजेश्वरी बस्ने २३ वर्षीय सुनिल पौडेललाई प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार वैशाख ६ गते काठमाडौं महानगरपालिका–१० बानेश्वर स्थित नेशनल मनि ट्रान्सफरबाट कुशुम खनालले पौडेललाई नेपाल ईन्भेष्टमेन्ट बैंकमा ५ लाख रुपैयाँ जम्मा गर्नका लागि बा.२८.प ९६०७ नम्बरको स्कुटरसहित पठाएकोमा खातामा रकम जम्मा नगरी पौडेल फरार भएका थिए । पौडेललाई प्रहरीले शनिबार काठमाडौं महानगरपालिका–९ बालाजुस्थित उनको कोठाबाट उक्त स्कुटर, नगद ६३ हजार रुपैयाँ र मोबाइल १ थानसहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।