एभरेष्ट दैनिक

बालिकालाई बलात्कार गरेको आरोपमा राजधानीबाट दुई जना पक्राउ

काठमाडौँ, मंसिर २९ । बालिकालाई आर्थिक प्रलोभन देखाई तथा फकाई फुल्याई जबर्जस्ती करणी गरी फरार दुई जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । महानगरीय प्रहरीले राजधानीको गोङ्गबु नयाँ बसपार्क र धादिङको गोगनपानीमा भएको दुई छुट्टाछुट्टै करणी घटनामा संलग्न अभियुक्तलाई गोङ्गबुबाट पक्राउ गरेको जनाएको छ । टोखा बस्ने एक १२ वर्षीया बालिकालाई एक हजार रुपियाँको प्रलोभन देखाई गोङ्गबुस्थित होटल ग्रिन नेपालमा पु¥याई गत आइतबार राति जबर्जस्ती करणी गरी फरार २४ वर्षीय ललित पुनलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, आठवर्षीय बालिकालाई चार वर्षअघि जबर्जस्ती करणी गरी फरार धादिङ गोगनपानीका २३ वर्षीय रामशरण परियार पनि काठमाडौँबाट पक्राउ परेका छन् । घटनापछि फरार परियारविरुद्ध जिल्ला अदालत धादिङले चार वर्ष कैद सजाय सुनाएको थियो । यो खबर आजको गोरखापत्रमा  छ ।