एभरेष्ट दैनिक

महासंघमा लगाएको ताला युनियनले खोल्यो, तीन जिल्लाको अधिवेशन स्थगित

काठमाडौं, फागुन ६ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयको मुल ढोकामा लगाएको ताला शुक्रबारदेखि खुलेको छ । महासङ्घ र प्रेस युनियन नेतृत्वबीच आज दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो । महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो । ताला खोलेपछि महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले युनियनले सरोकार राखेका विषयलाई महासङ्घ सबैको साझा संस्था भएकोमा बताए । युनियनका अध्यक्ष बद्री सिग्देलले महासङ्घले आफ्नो साझा चरित्र बचाएर अघि बढ्नुपर्ने बताउँदै वास्तविक पत्रकारलाई मात्र महासङ्घको सदस्यता वितरण गर्न माग गरे । महासंघको सदस्यताको विषयमा असहमति जनाउँदै युनियनले फागुन २ गतेदेखि ताला लगाएको थियो । सहमतिको आधारमा ताला खुलेको महासंघका केन्दीय महासचिव उजिर मगरले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । सहमतिअनुसार युनियनले सरोकार देखाएका केही शाखाहरुमा देखिएको विवाद महासंघको सचिवालय बसेर टुङ्ग्याउने सहमति भएको छ । ‘नुवाकोट, दोलखा, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिराहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर शाखामा देखिएका सदस्यतासम्बन्धी समस्याहरु महासंघको सचिवालयले सहमतिको आधारमा टुंगो लगाउने छ ।’ मगरले जारी गरेको विज्ञप्तीमा भनिएको छ । सदस्यताको विषयलाई लिएर समस्या देखिएका बाहेक सबै शाखाको अधिवेशन पूर्वघोषित कार्यतालिकाबमोजिम गर्ने पनि सहमति भएको छ । पूर्वाञ्चल क्षेत्रमाको पाँचथर र सप्तरी शाखाको अधिवेशन स्थगित गरिएको महासंघले जनाएको छ । सिराहामा शाखाबाट सदस्यता विवरण प्राप्त भई निर्णय हुनासाथ जानकारी गराइने छ । पूर्वाञ्चलका अन्य जिल्लामा केही समयभित्रै केन्द्रीय प्रतिनिधि, सदस्यताको अन्तिम नामावली र अन्य सम्बद्ध कागजातहरू उपलब्ध गराइने भएकोले उत्साहका साथ अधिवेशन आयोजना गर्न सम्बद्ध शाखा कार्यसमिति र सहभागी हुन सदस्य पत्रकार साथीहरूलाई अनुरोध छ ।