एभरेष्ट दैनिक

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी ढुङ्गेल पक्राउ

काठमाडौं, ३ फागुन । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका काठमाडौं तारकेश्वर नगरपालिका–१९ डेरा गरी बस्ने नुवाकोट फिकुरी–९ का २९ बर्षीय अशोक ढुंगेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ढुंगेल समेत भएको अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत पाटनको २०६९ माघ २ गतेको फैसलाले ६ बर्ष कैद हुने ठहर भएकोमा फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरोकोको टोलीले काठमाडौं मनमैंजुबाट पक्राउ गरेको हो । काठमाडौं काभ्रेस्थली–६ स्थित ३६ रोपनी जग्गामा नविनकुमार नेपाल समेतले डोजर लगाई जग्गा प्लटिङ्ग गरिरहेको अवस्थामा ढुङ्गेल तथा उनका साथीहरु अमर लामा र सुन्दर श्रेष्ठ समेतले २०६६ चैत ५ गते उक्त प्लटिङ्गको लागि प्रयोग गरिएको डोजरका चालक लोकनाथ ढुङ्गानालाई पेस्तोल देखाई कुटपिट गरी डोजरको साँचो खोसेर अपहरण गरी मारिदिने र डोजरमा आगो लगाईदिने धम्की दिई ५ लाख रुपैयाँ फिरौती रकम माग गरेको र सोही दिन पीडितले ढुंगेललाई फिरौती वापतको पहिलो किस्ता १ लाख रुपैयाँ दिएकोमा प्रहरी कारवाहीको सिलसिलामा लामाको साथबाट काठमाडौं महानगरपालिका–२९ नयाँ बसपार्कमा फिरौती वापतको उक्त १ लाख रुपैयाँ सहित डोजरको चाबी र फिरौती माग्न प्रयोग भएको सीम सहितको मोबाईल सेट प्रहरीले बरामद गरेको थियो । फैसला कार्यान्वयनको लागि ढुंगेललाई काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।