एभरेष्ट दैनिक

शहर विकासको नमूना तयार गर्ने अर्थमन्त्रीको घोषणा, २ नगरपालिका पुरस्कृत

काठमाडौँ, २ फागुन । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थित सहरीकरणका लागि पूर्वाधार विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नगरविकास कोषको २९ औँ वार्षिकात्सवको समारोहलाई यहाँ आज सम्बोधन गर्दै उहाँले भन्नुभयो “व्यवस्थित सहरीकरणका लागि पूर्वाधारको विकास एवम् एकीकृत कार्ययोजना नै प्रमुख आधार छन् ।” उपप्रधानमन्त्री महराले भन्नुभयो, “विकासक्रमसँगै तीव्ररुपमा सहरीकरण बढेको छ, सहरी विकास रणनीति पारित भई विकासको मापदण्ड पनि निर्धारण भएको छ, अब सहर विकासको नमुना तयार हुन्छ ।” तीव्ररुपमा सहरीकरण भए पनि कमजोर पूर्वाधारका कारण सहरी जनजीवन व्यवस्थित बन्न नसकेको उल्लेख गर्दै उहाँले बढ्दो नगर विकासलाई ध्यानमा राखेर कोषले वस्तुनिष्ठ योजना बनाउनुपर्नेमा जोड दिनुभयो । मुख्य सचिव डा सोमलाल सुवेदीले पूर्वाधार क्षेत्रको विकासका लागि कोषले प्रमुख भूमिका खेल्नुपर्नेमा जोड दिदैं जनप्रतिनिधि नभएको अवस्थामा जनतालाई सहज र सरल रुपमा सेवा दिन कर्मचारी प्रशासन जिम्मेवार बन्नुपर्ने बताउनुभयो । कोषको प्राविधिक क्षमता बढाई पुँजी विस्तार गरेर प्रतिस्पर्धी सेवा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले सहरी विकासका लागि संस्थागत व्यवस्थापन गर्ने चुनौती देखिउको बताउँदै कोषलाई पूर्वाधार विकास बैंक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । स्थापनाको २८ वर्षे कार्यकालमा कोषको सञ्चित पुँजी रु तीन अर्ब रहेको छ । कोषले विभिन्न एक हजार २०० परियोजनामा लगानी गरेको सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा उत्कृष्ट काम गरेवापत व्यास नगरपालिका र भिमदत्तनगरपालिकालाई उपप्रधानमन्त्री महराले सम्मानसमेत गर्नुभयो । रासस