एभरेष्ट दैनिक

कसले जलाए त्रिवि शिक्षाध्यक्ष त्रिपाठीको गाडी !

काठमाडौं, फागुन २ । त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष (रेक्टर) सुधा त्रिपाठीको कारमा अपरिचित समुहले आगजनी गरेको छ । ललितपुरको युएन पार्क नजिक २ जनाले बा २ च ५६३० नम्बरको त्रिपाठी सवार सुजुकी जिपमा आगजनी गरेको हो । आगजनीबाट जीप पुर्ण रुपमा क्षति पुगेको ललितपुर प्रहरीले जनाएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक समेत रहेकी त्रिपाठीको जिपमा स्ववियू निर्वाचन प्रति असन्तुष्ट विद्यार्थी संगठनका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीको आशंका छ आगजनीलगत्तै पुगेको प्रहरीले आगो निभाएको छ ।  अनेरास्ववियु अध्यक्ष नविना लामाले स्ववियु चुनाव भाँड्न शिक्षाध्यक्षको गाडीमा आगजनी गरिएको भन्दै भर्त्सना गरेकी छन् । ‘यसको जिम्मा कि चुनाव भाँड्ने संगठनले लिनुपर्छ,’ उनले भनिन्, ‘नभए राज्यले जिम्मेवारी लिनुपर्छ ।’