एभरेष्ट दैनिक

साढे दुई सय क्वीन्टल चामल खाद्य संस्थानमा थन्कियो

सोलुखुम्बु, फागुन १। माघ महिनाभरी एक किलो चामल पनि विक्री नभएपछि नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा चालम थन्किएको छ । बजार मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको शाखा प्रमुख शम्भुप्रसाद रेग्मीले बताएका छन् । खाद्य संस्थानको चामल ढुवानीको लागत मूल्यभन्दा बढी भएपछि त्यही अनुसार बिक्री मूल्य तय गरिएको हो । संस्थानमा मन्सुली चामलको मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा रहेको छ भने बजारमा यही चामल ४५ रुपैयाँ केजीमा बिक्री भइरहेको छ । यतिबेला सल्लेरी डिपोमा बिक्री नभएको सबै चामल लुक्ला डिपोमा पठाउने तयारी भइरहेको छ । सोताङ डिपोमा विगत दुईवर्ष देखिनै चामल बिक्री हुन छाडेपछि ढुवानीसमेत गर्न नसकिएको प्रमुख रेग्मीले बताए । खाद्यन्नको चामल गोदाममै थन्किएपछि बिक्री मूल्य संशोधनका जिल्ला प्रशासन कार्यालय र संस्थानको प्रधान कार्यलयमा पत्र पठाइसकिएको छ । सल्लेरी डिपोमा अहिले दुई सय ४२ क्वीन्टल चामल मौन्दात छ ।