एभरेष्ट दैनिक

सकियो क्यान इन्फोटेक, तीन लाखभन्दा बढीले गरे अवलोकन

काठमाडौँ, माघ १८। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक सकिएको छ । राजधानीको भृकुटीमण्डपमा सञ्चालित २३ औँ संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७’मा तीन लाख १० हजार ९८ जनाले अवलोकन गरेका छन् । अघिल्लो वर्ष तीन लाख ६३ हजारले अवलोकन गरेका थिए । महासङ्घले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आएको छ । प्रदर्शनीको आज अन्तिम दिन पनि अवलोकनकताको उत्तिकै उत्साह र सहभागिता रह्यो । आज मात्रै ५५ हजार ७१३ जनाले मेलाको अवलोकन गरेका छन् । यसपटक सेलिब्रेटी, राजनीतिक दलका नेतृत्व, नीति निर्मातालगायत बालकदेखि वृद्धसम्मको बाक्लो उपस्थिति रहेकाले आम नेपालीमा सूचना प्रविधिको पहुँच विस्तार र नीति निर्माणमा योगदान पुग्ने आयोजकको विश्वास छ । प्रदर्शनीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशी, उद्योगमन्त्री नवीन्द्रराज जोशी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद् उदयशमशेर राणालगायत नेता, चर्चित कलाकार, राष्ट्रिय खेलाडीलगायतले इन्फोटेकको अवलोकन गरेको महासङ्घको विज्ञप्तिमा उल्लेख छ । यस पटकको इन्फोटेकमा पनि नेपालमा भित्रिएका थुप्रै नयाँ नयाँ प्रविधिहरुका बारेमा इन्फोटेकमार्फत आमनेपालीले प्रत्यक्ष जानकारी लिने अवसर मिलेको महासङ्घका महासचिव विश्वराम बलामीले बताए । प्रदर्शनीमा प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, सिसिटिभी, ब्याट्री, सोलार, युपिएस, इन्डक्सन चुलो, ल्यापटप तथा एन्ड्रोइड स्मार्ट टिभी, स्मार्टफोन÷ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित विशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, पावर बैंक, स्मार्टवाच, सेल्फी स्टिकलगायतका स्टलहरु आकर्षणको केन्द्र बनेको थियो । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी १५८ कम्पनीका २२२ वटा स्टल रहेका थिए ।