एभरेष्ट दैनिक

माओवादी केन्द्रका ७० केन्द्रीय सदस्यले बुझाए सामूहिक राजीनामा

काठमाडौं, माघ १८ । केही दिन अघि सामूहिक राजीनामा दिएका माओवादी केन्द्रका ७० केन्द्रीय सदस्यले पार्टी मुख्यालय पेरिसडाँडामा राजीनामा बुझाएका छन् । माओवादी केन्द्र सिन्धुपाल्चोकको माघ १२ गते सदरमुकाम चौतारामा गरेको प्रथम एकता भेलाले गरेको निणर्य अनुरुप जिल्लाबाट ‘संगठनात्मक विधि र पद्धतिको कार्यन्वयन सहित समितिहरुको चुस्तताको लागि पार्टीलाई सहयोग गर्न’ भन्दै ७० जना केन्द्रीय सदस्यले संयुक्त राजीनामा दिएका थिए । माओवादी केन्द्रका सिन्धुपाल्चोक जिल्लामा कार्यरत पोलिटव्युरो सदस्य कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’, केशव नेपाल , केन्द्रीय सदस्यहरु दावा तामाङ, झम्क प्रसाद पराजुली , राजकुमार श्रेष्ठ, माधव सापकोटा ‘सुबोध’ युवराज दुलाल ‘सरद’ सरल सहयात्री, अमृता नेपाल लगायत ७० जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित कार्यलयका मुख्य सचिवलाई राजिनामा बुझाए । पार्टीको केन्द्रीय समिति भद्दा भएको कारण त्यसलाई चुस्त बनाई प्रकृयाको आधारमा पार्टी निर्माणको बहस सिर्जना गर्न ७० जना केन्द्रमा रहेका नेताहरुले राजीनामा दिएको माओवादी केन्द्रका सिन्धुपाल्चोक जिल्ला संयोजक दावा तामाङले बताए ।