एभरेष्ट दैनिक

बेहुली नपाइएपछि १० लाख डलरसम्म खर्च गर्न तयार

फागुन ५ । जनसंख्यामा लैंगिक असमानताको प्रत्यक्ष प्रभाव चिनियाँ समाजमा देखा पर्न थालेको छ । लामो समय ‘एक सन्तान’ नीति अपनाएको चीनमा पुरुषको संख्या महिलाको भन्दा निकै बढी भएका कारण विवाहका लागि दुलही पाउन मुस्किल हुने गरेको छ । समाचार एजेन्सीहरुका अनुसार चीनमा ३० वर्ष उमेर पार गरिसकेका अविवाहित पुरुषलाई ‘शेङ्गनान’ अर्थात् ‘बाँकी बसेका पुरुष’ भनिन्छ । विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक चीनमा यस्ता पुरुषको संख्या निकै छ । लैंगिक असन्तुलनका कारण चीनमा कयौं पुरुषले विवाहका लागि बेहुली पाउन नसकेका हुन् । यतिमात्र होइन, युवतीहरुले विवाहका लागि विभिन्न शर्तसमेत राख्न थालेका छन् । एक अनुमान अनुसार चीनमा सन् २०२० सम्ममा तीन करोडभन्दा बढी पुरुष अविवाहित हुनेछन् । चीन सरकारले सन् २०१५ मा ‘एक सन्तान’ नीतिलाई खारेज गरेको भए पनि लामो समय सो नीति अपनाएको चीनमा त्यसको प्रभाव आगामी कयौं वर्षसम्म पर्ने देखिन्छ । अमेरिकी राजनीतिक अर्थशास्त्री निकोलस एबरस्टाडले आफ्नो पुस्तक ‘दि डेमोग्राफिक फ्युचर’ मा उल्लेख गरेअनुसार सन् २०३० सम्ममा ३० वर्ष उमेर पार गरेका एक चौथाई चिनियाँ युवा अविवाहित रहनेछन् । सन् २०१५ मा ४० वर्ष उमेर कटेका एक चिनियाँ व्यवसायीले विवाहका लागि जोडा मिलाउने सांघाइस्थित एउटा एजेन्सीविरुद्ध मुद्दा नै हालेका थिए । उनका अनुसार सो एजेन्सीले १० लाख डलर लिएर पनि आफ्नोलागि विवाहयोग्य युवती खोज्न सकेन । त्यसैगरी दक्षिणी चीनको ग्वाङ्गजाउमा एक कम्प्यूटर प्रोगामरले आफ्नी प्रेमिकालाई ९९ वटा आइफोन दिएर विवाहको प्रस्ताव गरेका थिए । सोसल मिडियामा यो विषयमा निकै चर्चा भयो तर उनकी प्रेमिकाले विवाहका लागि अस्वीकार गरिन् । प्रविधिको विकाससँगै अहिले ‘अनलाइन डेटिङ’ पनि खुब प्रचलनमा आएको छ । युवतीलाई आकर्षित गर्न युवाहरु ‘स्टाइलिस्ट’ बन्ने होडमा देखिन्छन् भने विवाहका लागि आमाबुवाको दबाब झेल्न नसक्दा कयौंले नक्कली गर्लफ्रेन्ड राख्ने गरेका छन् । यसका लागि पनि निकै खर्च हुने गरेको बताइन्छ । चीनमा नक्कली गर्लफ्रेन्डका लागि एउटा एप नै प्रयोगमा ल्याइएको छ । ‘हायर मी प्लीज’ नामको सो एपमा निश्चित अवधिका लागि गर्लफ्रेन्ड फेला पार्न सकिन्छ । समाचार एजेन्सीहरुका अनुसार यसका लागि दिनको १० हजार युआनसम्म पनि खर्च हुने गर्दछ । एजेन्सी