एभरेष्ट दैनिक

आर्थिक समृद्धिमा लागे मात्रै शहीदका सपना पुरा हुने– उपराष्ट्रपति पुन

काठमाडौं,माघ १६ उपराष्ट्रपति नन्दकिशोर पुनले आर्थिक समृद्धिको बाटोमा देश हिँडेमा मात्रै शहीदका सपना पुरा हुने बताएका छन् । शहीद दिवसका अवसरमा सन्देश व्यक्त गर्दै उपराष्ट्रपति पुनले दिगो आर्थिक विकाससहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न एक भएर लाग्न अनुरोध गरे । “सहिद दिवस जस्तो यस गौरवपूर्ण दिनको अवसरमा सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध भएर संविधानको पूर्ण कार्यान्वयन गरेर आर्थिक समृद्धिको बाटोमा दृढ्तापूर्वक अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।” वक्तव्यमा पुनले भनेका छन् । पढ्नुस विस्तृतमा ‘जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक परिर्वनकारी क्रान्ति तथा संघर्षमा आफ्नो जीवन बलिदान दिनुहुने सहिदहरुको सम्झनामा प्रत्येक माघ १६ मा सहिद दिवस मनाउँदै आएका छौँ । सहिद दिवस–२०७३ को यस पुण्य तिथिमा म सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आज हामी नेपाली जुन अवस्थामा छौँ, यो प्राप्तीका लागि नेपालमा धेरै ठूला क्रान्ति, संघर्ष, आन्दोलनहरु भएका छन् । सबै खाले आन्दोलनमा नेपाली वीर सपुतहरुको वलिदानी रहेको छ । नेपालमा प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रलगायत पछिल्लो राजनीतिक उपलब्धीहरु प्राप्तीको प्रमुख श्रेय सहिदहरुलाई नै जान्छ । यस अवसरमा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको वलिदान गर्नुहुने सम्पूर्ण सहिदहरुको उच्च सम्मान व्यक्त गर्दछु । साथै सम्पूर्ण सहिद परिवारजनमा पनि उच्च सम्मान व्यक्त गर्दछु । सहिदहरुको वलिदानी शान्त, समुन्नत र समृद्ध राष्ट्र निर्माण तथा सबै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन हो । संविधानसभाबाट जारी संविधान कार्यान्वयनसँगै राजनीतिक रुपमा सहिदहरुको सपना पूरा हुँदै छन् । सहिदहरुलाई स्मरण गर्दै नेपाली जनतालाई पूर्ण अधिकार सम्पन्न र देशलाई दिगो आर्थिक विकाससहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न एक भएर लाग्न म सबैको ध्यानाकर्षण गराउन चाहान्छु । सहिद दिवस जस्तो यस गौरवपूर्ण दिनको अवसरमा सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध भएर संविधानको पूर्ण कार्यान्वयन गरेर आर्थिक समृद्धिको बाटोमा दृढ्तापूर्वक अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा लिएको छु । महान् सहिदहरुप्रति पुनः हार्दिक श्रद्धाञ्जली ।’