एभरेष्ट दैनिक

महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।  श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।  समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।  समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।