एभरेष्ट दैनिक

कविता: माटो

महेश क्षितिज खुला आकाशमा उडेँ म जब स्वतन्त्र हुने रहरले लाग्यो मलाई तब सिन्धुसरि फिजारिएका चाहना सीमित हुँदा रहेछन् साँघुरो आकाश विन्दुमा। मेरो चाहनाको कित्ता वा भनौँ विजीगिषा नभएपछि आकाश उड्दाउड्दै सम्झिएँ मैले ताते गराउँदै आमाले मलाई हिडाएको माटो शैशवकालमा बहिनीसँग सोइसोइला खेलेको आँपको बुटो अहिले भइदिए यहाँ के चाहिन्थ्यो मलाईरु उड्दा उड्दै थाकेका आँखाले जब देखेँ आमाले अर्घ चढाउने पहाड पनि नाँघेछु मैले जीवन बुझेको नदी पनि छोडेछु नाँघ्नु र छोड्नुको चक्रव्यूहमा मैले मेरो माटोसँगको मायाको गहिरो भुलेछु म त पहाडसँगै अग्लिने मान्छे नदीसँगै बग्ने मान्छे संगतिको धार छोडेर उड्दैछु तब बुझेँ मैलै घर छेउको बाँसघारीको तामाको बिरुवाले शिर नुघाएर माटोलाई गरेको श्रद्दा गर्न बाँकी छ मैले पनि माटोलाई। जब बोध भयो मलाई मेरो टेक्ने डाली हो माटो मैले चारो टिप्ने आँगन हो माटो म आकाश खाएर मेट्न सक्दिनँ भोक म कावा खाएर मेट्न सक्दिनँ तिर्खा तब आउँछ मेरो दिमागमा न्यूटले देखेको भुइँ खस्दै गरेको स्याउ त्यही स्याउको माटो प्रेमले पाठ सिकाउँछ मलाई मेरो प्रमाता,प्रमेय र प्रमाण धर्तीकै माटो हो। उड्दाउड्दै जब आयो सत्व ज्ञान माटोप्रतिको ममा तब फर्किदै गर्दा आकाशबाट माटोमा सोचेँ मैले म माटैका लागि माटैमा जन्मेको मान्छेले माटैमा फर्किनु पर्छ आकाश छुने कुरा व्यन्जनामा हुनु स्वाभाविक हो अविधामा माया माटोको हुनुपर्छ माटोले दिने माया आकाशले दिन सक्दैन माटो र आकाश फरक कुरा हुन् ।