सिङ्गो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेका हौं : सहअध्यक्ष श्रेष्ठ
३ चैत, २०८०
काठमाडौं। नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले सिङ्गो नेपाल समाजवादी पार्टी नेकपा (माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताएका छन् । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सहअध्यक्ष श्रेष्ठले सिङ्गो नेपाल समाजवादी पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको जानकारी दिएका हुन् । उनले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्नेकुरा सत्य नभएको बताए। उनले नेसपाले गत मङ्सिर ६ गते नै केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको जानकारी दिए। सहअध्यक्ष श्रेष्ठले दुई पार्टी बिचमा एकता गर्ने भनेर चुनाव अगाडि नै सहमति भएको र पार्टी एकताको सर्तसहित आफूहरूले माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लडेको बताए। उनले आफूहरू पार्टी एकता गर्ने डेढ वर्ष अगाडिको सहमति अनुरूप अगाडि बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने बताए। सहअध्यक्ष श्रेष्ठले आफूहरूले माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेकाले कानुनी रूपमा आफूहरू माओवादी केन्द्रको सांसद भएको बताए। आफूहरूले कुनै सत्ता स्वार्थका लागि पार्टी एकता गर्न नलागेको भन्दै उहाँले विगतको पार्टी एकता गर्ने निर्णयमा इमान्दार र प्रतिबद्ध भएर लागेको बताए। उनले पार्टी अध्यक्ष महिन्द्रराय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म बागमती प्रदेश सरकारको मन्त्री भए पनि त्यो विगतमै भएको बताए। सत्ताका लागि एकता गर्न लागिएको भन्नेहरू पार्टी एकताको विरोधी भएका उनको भनाइ छ। सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी सँगसँगै अन्य पार्टीहरूलाई पनि एकता गर्दै लैजाने तयारी भएको बताए।
प्रधानमन्त्री पोखरामा
३ चैत, २०८०
यस्तो रहनेछ आज देशको मौसम
३ चैत, २०८०
पेट्रोल र डिजेलको मूल्य घट्यो
२ चैत, २०८०

